अपेक्षित मत नआए पनि जनताको निर्णय स्वीकार्छौं : ओली

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, फागुन २८ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले यसपटकको प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसार परिणाम प्राप्त गर्न नसकेको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै ओलीले आफू र पार्टीले अपेक्षा गरेको मत नपाए पनि जनताको निर्णयलाई पूर्ण सम्मानका साथ स्वीकार गर्ने बताएका हुन्। उनले लोकतान्त्रिक व्यवस्थामा अन्तिम निर्णय जनताको हुने भएकाले त्यसलाई शिरोधार्य गर्नु आफ्नो दायित्व भएको उल्लेख गरे।

ओलीले निर्वाचनमा सूर्य चिन्हमा मतदान गरेर समर्थन गर्ने मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्। उनले समर्थकहरूको विश्वास र साथ नै पार्टीको मुख्य शक्ति भएको बताएका छन्।

निर्वाचनको नतिजा अपेक्षा अनुसार नआए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभाव कमजोर नहुने उनको भनाइ छ। उनले पार्टी आगामी दिनमा पनि जनताकै बीचमा रहेर काम गर्ने र जनतासँगको विश्वासको सम्बन्ध अझ बलियो बनाउँदै अघि बढ्ने बताए।

ओलीले मत दिने, साथ दिने तथा विश्वास गर्ने सम्पूर्ण समर्थकलाई हृदयदेखि धन्यवाद व्यक्त गरेका छन्।

Leave a Comment