मकवानपुर, फागुन २८ — मकवानपुरको मनहरीमा झगडा छुट्याउन गएको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गरेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको छ। घटनामा एक प्रहरी सहायक निरीक्षक घाइते भएका छन् भने गोली लागेर एक आक्रमणकारी पनि घाइते भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गएराति मनहरी गाउँपालिका–१, मकरी क्षेत्रमा लागूऔषध सेवन गरी झगडा भइरहेको सूचनाका आधारमा चौकी पदमपोखरीबाट प्रहरी टोली खटिएको थियो। प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङको नेतृत्वमा पुगेको टोली सोधपुछ गर्ने क्रममा स्थानीय युवाहरूले अचानक बियरको बोतल, खुकुरी र बन्चरो प्रयोग गरी आक्रमण गरेका थिए।
आक्रमणबाट तामाङको दुवै हातमा चोट लागेको छ। प्रहरीका अनुसार आत्मरक्षाका लागि उनले एक राउण्ड गोली चलाएका थिए। गोली लागेर हेटौंडा उपमहानगरपालिका–१२, हात्तिगौंडाका १९ वर्षीय सनिस तितुङ घाइते भएका छन्। उनको पेटको दाहिने भागमा गोली लागेको र हाल चुरेहिल अस्पताल हेटौंडामा उपचार भइरहेको छ।
घटनामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरूमा हेटौंडा–१२, रमनटारका २४ वर्षीय सन्जय जिम्बा र ३५ वर्षीय अजय थिङ छन्। प्रारम्भिक अनुसन्धानअनुसार उनीहरू र घाइते तितुङ पूर्वमा लागूऔषध कारोबार, चोरी र ज्यान मार्ने उद्योगमा संलग्न देखिएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

