ओली–लेखकको बन्दीप्रत्यक्षीकरण मुद्दामा आज सुनुवाइ

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

सोमबार, १६ चैत २०८२-काठमाडौं : पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउविरुद्ध दायर बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

ओलीकी पत्नी राधिका शाक्यले उहाँलाई गैरकानुनी थुनामा राखिएको दाबी गर्दै आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेकी हुन्। सोही रिटमाथि आज सुनुवाइ हुन लागेको हो।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार उक्त मुद्दा आजको पेशी सूचीमा समावेश गरिएको छ।

यस्तै, पूर्वगृहमन्त्री रमेश लेखकको हकमा पनि बन्दीप्रत्यक्षीकरण रिट दायर गरिएको छ। उहाँकी पत्नी यशोदा लेखकले लेखकलाई गैरकानुनी रूपमा थुनामा राखिएको जिकिर गर्दै रिट दायर गरेकी हुन्।

शनिबार बिहान पक्राउ परेका ओली र लेखकलाई जिल्ला अदालत काठमाडौंले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

स्वास्थ्य समस्याका कारण ओली हाल शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत छन्। उनलाई आइतबार अदालतमा भर्चुअल माध्यमबाट उपस्थित गराइएको थियो।

लेखक भने स्वयं अदालतमा उपस्थित भएका थिए। हाल उनलाई महाराजगन्जस्थित प्रहरीको दुई नम्बर गणमा राखिएको छ।

Leave a Comment