४ चैत २०८२, काठमाडौं-सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी थालेको छ। लामो समयदेखि भाडा समायोजन नभएको भन्दै यातायात व्यवसायीले दबाब बढाएपछि प्रक्रिया अघि बढाइएको हो।
पछिल्लो समय अन्तर्राष्ट्रिय परिस्थितिका कारण पेट्रोलियम पदार्थको मूल्य बढेपछि त्यसको असर यातायात क्षेत्रमा परेको छ। विशेषगरी डिजेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ पुगेपछि व्यवसायीहरूले भाडा समायोजन गर्न माग गरेका छन्।
यातायात व्यवस्था विभागका एक अधिकारीका अनुसार वैज्ञानिक भाडादर प्रणालीअनुसार लामो समयदेखि भाडा समायोजन हुन नसकेकोले अब समायोजन आवश्यक भइसकेको छ। केही दिनभित्रै नयाँ भाडादर लागू गर्ने तयारी भइरहेको जनाइएको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पनि विज्ञप्ति जारी गर्दै भाडा समायोजन गर्न सरकारसँग माग गरिसकेको छ। महासंघका पदाधिकारीहरूका अनुसार इन्धन, स्पेयर पार्ट्स, टायर, बीमा लगायतका खर्च बढेकाले पुरानो भाडादर व्यवहारिक नभएको बताएका छन्।
२०७२ सालमा लागू गरिएको वैज्ञानिक भाडा प्रणालीअनुसार सवारी भाडामा पेट्रोलियम पदार्थको ३५ प्रतिशत र अन्य १३ प्रकारका खर्चको ६५ प्रतिशत प्रभाव पर्ने व्यवस्था छ। इन्धनको मूल्य ५ प्रतिशतले घटबढ हुँदा भाडा स्वतः समायोजन हुनुपर्ने भए पनि पछिल्लो समय यो प्रणाली प्रभावकारी रूपमा लागू हुन सकेको छैन।
अन्तिम पटक २०८१ पुस २२ गते भाडादर समायोजन गरिएको थियो। त्यसबेला यात्रुवाहक सवारीमा ३.३० प्रतिशतसम्म भाडा वृद्धि गरिएको थियो।
यातायात व्यवसायीहरूले इन्धनको मूल्य बढ्दा मात्र नभई घट्दा पनि समान रूपमा भाडा समायोजन गर्नुपर्नेमा जोड दिएका छन्। अहिले भने समग्र मूल्यवृद्धिको आधारमा भाडा पुनः बढ्ने सम्भावना देखिएको छ।

