राप्रपा विवाद: एक साताभित्र महाधिवेशन घोषणा गर्न ‘अल्टिमेटम’

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, चैत २९, २०८२ (आइतबार)-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवाद सतहमा आएको छ। महामन्त्री धवलशमशेर राणा नेतृत्वको संस्थापनइतर समूहले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै एक साताभित्र महाधिवेशनको मिति घोषणा गर्न अल्टिमेटम दिएको छ।

गत फागुन २१ मा सम्पन्न निर्वाचनको नतिजा उत्साहजनक नआएको र त्यसको नैतिक जिम्मेवारी नेतृत्वले नलिएको आरोप लगाउँदै राणा समूहले नेतृत्व परिवर्तनको माग अघि सारेको हो। अध्यक्ष लिङ्देनलाई बुझाइएको ध्यानाकर्षण पत्रमा पार्टीलाई पुनर्जीवन दिन नयाँ नेतृत्व आवश्यक रहेको उल्लेख गरिएको छ।

निर्वाचनअघि अध्यक्ष लिङ्देनले राप्रपालाई देशको पहिलो शक्ति बनाउने दाबी गरे पनि नतिजा अपेक्षाविपरीत आएको असन्तुष्ट पक्षको ठहर छ। विज्ञप्तिमा हारको समीक्षा गर्न वा नैतिक जिम्मेवारी लिन नेतृत्वले चासो नदेखाएको उल्लेख गरिएको छ।

यस्तै, उपसभामुख निर्वाचनका क्रममा पार्टीले लिएको निर्णयप्रति पनि असन्तुष्टि जनाइएको छ। केन्द्रीय कार्यसमितिमा पर्याप्त छलफल नगरी उम्मेदवारी दिने र फिर्ता लिने निर्णय गरिएको भन्दै पार्टीभित्रको प्रजातान्त्रिक विधि र पद्धति मिचिएको आरोप लगाइएको छ।

महामन्त्री राणासहितका नेताहरूले हस्ताक्षर गरेको पत्रमा तीन बुँदे माग प्रस्तुत गरिएको छ। एक साताभित्र महाधिवेशनको कार्यतालिका सार्वजनिक नगरिए थप संघर्षका कार्यक्रम अघि बढाउने चेतावनीसमेत दिइएको छ।

एकता महाधिवेशनपछि स्थिर देखिएको राप्रपामा पछिल्ला घटनाक्रमले नयाँ ध्रुवीकरणको संकेत गरेका छन्।

Leave a Comment