४ चैत २०८२, काठमाडौं-इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको छ। सोमबार इजरायलले गरेको आक्रमणमा उनी मारिएको कुरा इरान र इजरायल दुवै पक्षले स्वीकार गरेका हुन्।
लारिजानी इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका प्रमुख थिए, जहाँ उनी देशको सुरक्षा र रणनीति निर्माणमा महत्वपूर्ण भूमिका निभाइरहेका थिए। परिषद्ले मंगलबार विज्ञप्ति जारी गर्दै उनको मृत्यु पुष्टि गरेको हो।
आक्रमणमा लारिजानीसँगै उनका छोरा र सहायक अलीरेजा बायात पनि मारिएको जनाइएको छ। यसअघि इजरायलका रक्षामन्त्रीले आक्रमणमा लारिजानी मारिएको दाबी गरेका थिए।
युद्ध सुरु भएयता इरानमा सर्वोच्च नेता पछिको उच्च तहका व्यक्तिको हत्या भएको यो पहिलो घटना मानिएको छ। लारिजानी इरानी सत्ता संरचनामा प्रभावशाली नेताका रूपमा चिनिन्थे।
यसैबीच इरानका अर्धसैनिक बलका प्रमुख घोलामरेजा सोलेमानी पनि मारिएको बताइएको छ। इजरायलका प्रधानमन्त्रीले थप आक्रमण जारी रहने संकेत दिएका छन्।
तीन साताभन्दा बढी समयदेखि अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व तीव्र बन्दै गएको छ र क्षेत्रीय स्तरमा फैलिने जोखिम बढेको छ। इरानले युद्धविरामको प्रस्ताव अस्वीकार गर्दै अमेरिका र इजरायल पछि नहटेसम्म शान्ति सम्भव नरहेको बताएको छ।
उता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सहयोगी राष्ट्रहरूले पर्याप्त समर्थन नगरेको भन्दै असन्तुष्टि जनाएका छन्। धेरै पश्चिमी देशहरूले भने युद्धमा प्रत्यक्ष संलग्न हुन अस्वीकार गरेका छन्।
युद्धका कारण ‘स्ट्रेट अफ हर्मुज’ मार्ग प्रभावित हुँदा विश्व तेल आपूर्तिमा असर परेको छ। विश्वको ठूलो हिस्सा तेल यही मार्ग हुँदै आपूर्ति हुने भएकाले मूल्यमा उल्लेखनीय वृद्धि भएको छ।
विश्लेषकहरूका अनुसार युद्ध लम्बिँदै जाँदा ऊर्जा, खाद्य र आपूर्ति क्षेत्रमा विश्वव्यापी संकट गहिरिने खतरा बढ्दै गएको छ।

