समानुपातिक सांसदको प्रमाणपत्र वितरणमा देखियो मातृत्वको झल्को

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, चैत ५ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई आज निर्वाचन आयोगले प्रमाणपत्र वितरण गरेको छ।

निर्वाचन आयोगको कार्यालयमा आयोजित कार्यक्रममा कुल ११० जना समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिएको हो। कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय जानुकाकुमारी तुलाधार र सगुन शमशेर जबराले प्रमाणपत्र हस्तान्तरण गरेका थिए।

यही क्रममा रास्वपाबाट मुस्लिम क्लस्टरअन्तर्गत निर्वाचित सांसद समिना मिया डेढ वर्षीया छोरी बोकेर प्रमाणपत्र लिन आइपुगेकी दृश्यले सबैको ध्यान आकर्षित गरेको छ।

प्रमाणपत्र ग्रहणपछि उनले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले मदरसा शिक्षा र आधुनिक शिक्षालाई एकीकृत गर्दै अगाडि बढाउने योजना रहेको पनि बताइन्।

“मदरसा शिक्षा र आधुनिक शिक्षालाई एकीकृत गरेर लैजाने पनि मेरो प्रतिबद्धता छ,” उनले भनिन्।

निर्वाचन आयोगका अनुसार फागुन २१ गते सम्पन्न निर्वाचनमा समानुपातिकतर्फ ६ वटा राजनीतिक दलले सिट प्राप्त गरेका छन्। जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेकपा माओवादी केन्द्रले ९ तथा श्रमसंस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४/४ सिट जितेका छन्।

यसअघि प्रत्यक्षतर्फ निर्वाचित १६५ सांसदलाई भने मतपरिणाम सार्वजनिक भएलगत्तै सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमार्फत प्रमाणपत्र प्रदान गरिसकिएको थियो।

Leave a Comment