कलैया (बारा), चैत २०८२ — बारामा कुष्ठरोग (लेप्रोसी) नियन्त्रणतर्फ उल्लेखनीय सुधार देखिएको छ। मधेस प्रदेशका प्रोजेक्ट मेनेजर अमजदअली मिकरानीका अनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा नयाँ बिरामीको संख्या घटेको छ।
मिकरानीका अनुसार आर्थिक वर्ष ०८१/०८२ मा जिल्लाभर १३७ नयाँ कुष्ठरोगका बिरामी फेला परेका थिए। तर चालु आर्थिक वर्ष ०८२/०८३ को माघसम्म आइपुग्दा यो संख्या घटेर १८ मा सीमित भएको छ।
उनका अनुसार यो गिरावट समुदायस्तरमा गरिएको सक्रिय खोज, सचेतनामूलक कार्यक्रम र समयमै उपचारको पहुँचका कारण सम्भव भएको हो।
केही स्थानीय तहमा शून्य नयाँ बिरामी
यस वर्ष जितपुर उपमहानगरपालिका र विश्रामपुर गाउँपालिकामा हालसम्म कुनै नयाँ कुष्ठरोगका बिरामी फेला नपरेको मिकरानीले जानकारी दिए। यसले नियन्त्रण अभियान प्रभावकारी भएको संकेत गरेको छ।
घरदैलोमै पुगेर खोज अभियान
द लेप्रोसी मिसन नेपालको सहयोगमा सञ्चालन गरिएको कार्यक्रममा स्वास्थ्यकर्मीहरूले घरदैलोमै पुगेर रोगका लक्षण भएका व्यक्तिहरूको पहिचान, परामर्श र उपचारका लागि सिफारिस गरेका थिए।
सचेतना र उपचारमा सुधार
स्वास्थ्यकर्मीहरूका अनुसार कुष्ठरोग समयमै पहिचान भए पूर्ण रूपमा निको हुने भएकाले समुदायमा डर र भ्रम हटाउँदै सचेतना फैलाउने कार्यलाई प्राथमिकता दिइएको छ।
अभिमुखिकरण कार्यक्रममार्फत सन्देश
यसैबीच, “Dignity Phase-II” परियोजना अन्तर्गत कलैया उपमहानगरपालिकाको समन्वयमा पत्रकार तथा सरोकारवालासँग कुष्ठरोग सम्बन्धी अभिमुखिकरण कार्यक्रम पनि सम्पन्न गरिएको छ।
कार्यक्रम जिल्ला जनस्वास्थ्य कार्यालय बाराका प्रमुख चेतराज पण्डितको अध्यक्षतामा आयोजना गरिएको थियो।

