परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलन, घण्टाघर क्षेत्र तनावग्रस्त

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

वीरगञ्ज, चैत ८ — कक्षा १२ को टर्मिनल परीक्षा अन्तिम समयमा स्थगित गरिएको विरोधमा वीरगञ्जका विद्यार्थीहरूले आइतबार सडक आन्दोलन चर्काएका छन्। आन्दोलनका क्रममा घण्टाघर क्षेत्रको मुख्य सडक अवरुद्ध हुँदा आवागमन समेत प्रभावित भएको छ।

वीरगञ्जस्थित हरिखेतान कलेजका विद्यार्थीहरूले कलेज प्रशासनको निर्णयप्रति असन्तुष्टि जनाउँदै सुरुमा क्याम्पसभित्रै नाराबाजी गरेका थिए। तर स्थिति विस्तारै चर्किँदै गएपछि आन्दोलन सडकसम्म पुगेको हो।

विद्यार्थीहरूले प्रहरीमाथि क्याम्पसभित्रै प्रवेश गरी लाठीचार्ज गरेको आरोप लगाएका छन्। उनीहरूका अनुसार क्याम्पस ड्रेसमै रहेका विद्यार्थीमाथि बल प्रयोग गरिएको थियो।

प्रहरी हस्तक्षेपको विरोधमा विद्यार्थीहरूले सम्बन्धित डीएसपी, क्याम्पस प्रमुख तथा व्यवस्थापन समितिका पदाधिकारीमाथि कारबाहीको माग गरेका छन्।

यता जिल्ला प्रहरी कार्यालय पर्साले भने प्रदर्शनका क्रममा केही विद्यार्थीले तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन सामान्य बल प्रयोग गरिएको स्पष्ट पारेको छ।

प्रदर्शन चर्किएसँगै घण्टाघर क्षेत्रको सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ, जसका कारण सवारी आवागमन प्रभावित भएको छ। हाल घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने अवस्था सामान्य बनाउन प्रयास जारी रहेको प्रहरीले जनाएको छ।

Leave a Comment