तीन वर्षमा ६७% काम मात्रै : सूर्यविनायक–धुलिखेल सडक अझै अधुर
काभ्रेपलाञ्चोक, चैत ९ — भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म विस्तार भइरहेको सडक आयोजना तीन वर्ष बित्दा पनि अपेक्षित रूपमा अघि बढ्न सकेको छैन। करिब १६ किलोमिटर लामो उक्त सडक विस्तारमा हालसम्म ६७ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ।
अरनिको राजमार्गअन्तर्गत पर्ने यस सडकलाई दुई लेनबाट छ लेनमा विस्तार गरिँदैछ। सडकका दायाँबायाँ सर्भिस लेन र २.५ मिटर चौडाइको फुटपाथ निर्माण भइरहेको आयोजनाले जनाएको छ। तोकिएको समयभित्र काम सम्पन्न हुन नसकेपछि गत मङ्सिर अन्त्यमा आयोजनाको म्याद एक वर्षका लागि थप गरिएको थियो।
सडक विस्तारको काम सूर्यविनायक–साँगा र साँगा–धुलिखेल गरी दुई खण्डमा विभाजन गरी ठेक्का दिइएको छ।
साँगा–धुलिखेल खण्ड (८ किलोमिटर) को ठेक्का लामा कन्स्ट्रक्सनले चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा लिएको थियो। २०७९ मङ्सिर २७ मा सम्झौता भएको यस खण्डको म्याद सकिए पनि हालसम्म करिब ६० प्रतिशत मात्रै काम सम्पन्न भएको छ। निर्माण कम्पनीका अनुसार समग्र प्रगति ६५ प्रतिशत र पिचबाहेक भौतिक प्रगति करिब ९० प्रतिशत पुगेको छ।
सूर्यविनायक–साँगा खण्डमा भने करिब ५५ प्रतिशत काम सकिएको छ। ‘सेन्टर लाइन’ विवादका कारण लामो समय काम अवरुद्ध भएपछि गत मङ्सिरदेखि पुनः निर्माण कार्य अघि बढाइएको हो। हाल यस खण्डमा सडक चौडा बनाउने, संरचना हटाउने, टेवा पर्खाल, नाली र कल्भर्ट निर्माण गर्ने काम भइरहेको छ।
आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालका अनुसार जनागाल, बाँसघारी–बुडोल, साँगा–भैँसेपाटी र बनेपा क्षेत्रमा काम तीव्र गतिमा भइरहेको छ। ७.५ किलोमिटरको यस खण्डका लागि तीन अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा ठेक्का दिइएको थियो। म्याद सकिएपछि यस खण्डको समयावधि पनि थप गरिएको छ।
यस सडकखण्डमा पर्ने तीन पुलमध्ये महादेव खोलामा निर्माण कार्य जारी छ। अन्य दुई पुलको डिजाइन स्थानीय अवरोधका कारण ढिला भए पनि अहिले समस्या समाधान भइसकेकाले चाँडै निर्माण प्रक्रिया अघि बढ्ने जनाइएको छ।
साँगा क्षेत्रमा ठूला घुम्ती र भिर भएकाले निर्माण कार्यमा प्राविधिक चुनौती देखिएको आयोजनाले जनाएको छ।
चीनसँग जोडिएको सिन्धुपाल्चोकको तातोपानी नाका सञ्चालनमा आएपछि यस सडकमा सवारी चाप बढ्दै गएको छ। हाल कोटेश्वरबाट दैनिक दुई हजार पाँच सयभन्दा बढी सवारीसाधन आवतजावत गर्ने गरेका छन्।

