प्रधानमन्त्री बन्नुअघि तयारीमा बालेन, पहिलो निर्णयमै ‘सरप्राइज’ संकेत

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, १२ चैत — झापा–५ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र साह (बालेन) प्रधानमन्त्रीको शपथअघि नै सरकार सञ्चालनका लागि तीव्र तयारीमा जुटेका छन्। उनी केही समयदेखि काठमाडौंको एक होटलमा बसेर रणनीति बनाइरहेको पार्टी स्रोतले जनाएको छ।

पार्टी सभापति रवि लामिछानेसँग उनले पटक–पटक छलफल गरिरहेका छन्। साथै प्रशासन, सुरक्षा र प्राविधिक क्षेत्रका विज्ञहरूसँग परामर्श गर्दै सरकार सञ्चालनको गुरुयोजना तयार पारिएको बताइएको छ।

रास्वपाका नेताहरूका अनुसार प्रधानमन्त्री बनेको पहिलो दिनदेखि नै काम सुरु गर्ने गरी बालेनले योजना बनाइसकेका छन्। पहिलो निर्णय नै ‘सरप्राइज’ हुने दाबी गरिएको छ।

चैत १३ गते वैदिक विधिअनुसार बालेनले प्रधानमन्त्री पदको शपथ लिने कार्यक्रम तय भएको छ। त्यसपछि सिंहदरबारमा पदबहाली गर्ने तयारी छ।

सरकार गठनसँगै मन्त्रिपरिषद् सानो र प्रभावकारी बनाउने योजना रहेको छ। मन्त्रालय संख्या घटाएर करिब १५ वटामा सीमित गर्ने र बाँकी मन्त्रालयहरूलाई गाभ्ने तयारी गरिएको छ।

त्यसैगरी, सरकारी सेवा प्रवाहलाई छरितो बनाउन डिजिटल प्रणाली विस्तार गर्ने, सवारी चालक अनुमतिपत्र जस्ता सेवामा हुने ढिलासुस्ती अन्त्य गर्ने लक्ष्य राखिएको छ। सय दिनभित्रै देखिने परिवर्तन ल्याउने गरी कार्ययोजना बनाइएको नेताहरूले बताएका छन्।

रास्वपाले २० भन्दा बढी विभाग, विकास समिति र बोर्ड खारेज गर्ने तयारी पनि अघि बढाएको छ। राजनीतिक भागबण्डाका आधारमा भएका नियुक्ति हटाउने र अनावश्यक संरचना घटाउने नीति लिने संकेत गरिएको छ।

यसका साथै संवैधानिक निकाय र संस्थानहरूमा विज्ञताका आधारमा नियुक्ति गर्ने, विगतका उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने लगायतका विषयमा पनि छलफल भइरहेको छ।

सरकार गठनअघि नै प्राथमिकताका १० देखि १५ मुख्य काम तय गरेर विज्ञहरूसँग परामर्श गरिरहेको पार्टीले जनाएको छ। निजी क्षेत्रको मनोबल बढाउने र लगानीमैत्री वातावरण बनाउने योजना पनि तयारीमा रहेको छ।

Leave a Comment