काठमाडौं, चैत १८ — नेपाली कांग्रेसभित्र बढ्दो आन्तरिक विवादबीच पार्टी केन्द्रीय अनुशासन समितिको बैठक आज बस्ने भएको छ। पूर्वसभापति शेरबहादुर देउवा र शेखर कोइराला समूहले समानान्तर गतिविधि अघि बढाएपछि त्यसप्रति असन्तुष्टि जनाउँदै बैठक बोलाइएको हो।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ। पछिल्लो समय देउवा समूहका नेताहरूले पार्टीको आधिकारिक लाइनभन्दा बाहिर गएर गतिविधि बढाएको भन्दै संस्थापन पक्ष असन्तुष्ट बनेको छ।
विशेषगरी, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेको विषयलाई पार्टीले गम्भीर रूपमा लिएको छ। हाल पार्टी सभापतिमा गगन थापा निर्वाचित भइसकेको र त्यसलाई निर्वाचन आयोगले मान्यता दिइसकेको अवस्थामा खड्काको कदम विवादको विषय बनेको हो।
यस्तै, खड्काले हालै १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक बोलाउनुका साथै जिल्ला सभापतिहरूको भेला आह्वान गरेपछि विवाद थप चुलिएको छ। यी सबै विषयमा आजको अनुशासन समितिको बैठकमा छलफल हुने जनाइएको छ।






