अदालतबाट निस्किएपछि फरार भएका वीरगन्ज मेयर सिंह पक्राउ

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन्। जिल्ला अदालत पर्साबाट पक्राउ पुर्जी जारी भएको आठ दिनपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार मेयर सिंह पर्साको ठोरी क्षेत्रमा लुकेर बसिरहेको अवस्थामा विशेष सूचनाका आधारमा पक्राउ परेका हुन्। पक्राउपछि उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सिंह एक दिन अदालतमा उपस्थित भए पनि त्यसपछि सम्पर्कविहीन बनेको जनाएको छ। खोजीका लागि खटिएको विशेष टोलीले उनलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ।
गत जेठ १२ गते जिल्ला अदालत पर्साले लिखत सम्बन्धी कसुरमा मेयर सिंहसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। स्थानीय लियाकत अलीको जाहेरीका आधारमा अदालतले उक्त आदेश दिएको बताइएको छ।
प्रहरीले पक्राउ परेका सिंहमाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ।

Leave a Comment