१९ चैत २०८२, काठमाडौं । रवि लामिछानेले प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रतिपक्षी दलहरूलाई आफूहरूमाथि चौबिसै घण्टा निगरानी राख्न आग्रह गरेका छन् ।
उनले रास्वपाका सांसदहरूलाई प्रश्न सोधेर संसदमा आएको स्मरण गराउँदै अहिले सत्ता पक्षमा बसे पनि ती प्रश्नप्रति नैतिक जिम्मेवारी उति नै रहने बताएका छन् । जनताले दिएको विशाल मतादेशलाई गुम्न नदिनुपर्ने उल्लेख गर्दै उनले त्यसलाई फेरि गुमेको अवसर बन्न नदिने प्रतिबद्धता जनाए । साथै, उनले आफ्नो पार्टीलाई सिंहदरबार चलाउन मात्र नभई बदल्ने जिम्मेवारी दिएको बताउँदै परिवर्तनको प्रक्रिया सुरु भइसकेको दाबी गरे ।
उनले जनतालाई केवल आभार व्यक्त गरेर मात्र नरोकिने, बरु मतादेशको गुन जिम्मेवारी पूरा गरेर तिर्ने प्रतिज्ञा पनि गरे । साथै, आफूहरू प्रश्न उठाउने मात्रै होइन, त्यसको उत्तर खोज्ने उद्देश्यसहित अघि बढेको स्पष्ट पारे ।

