२५ माघ २०८२, आइतबार
काठमाडौं
मुग्लिङ–काठमाडौं सडकखण्डअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–६ दसकिलोमा आज बिहान भएको बस ठक्कर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
प्रहरीका अनुसार, दाङबाट काठमाडौं तर्फ आउँदै गरेको प्रदेश नं. ३–०१–००६ ख १५५२ नम्बरको बस र काठमाडौंबाट रसुवागढी जाँदै गरेको बा.प्र.०१–०६ ख ५२०६ नम्बरको रिजर्भ बस बिहान करिब साढे ७ बजे ठोक्किएका थिए। ठक्करको प्रभावले एउटा बस सडक किनारमा रहेको टिनले छाएको कच्ची पसलमा पनि ठोक्किएको थियो।
सोही पसलमा चिया पिउँदै गरेका धादिङ धुनिवेशी नगरपालिका–९ का ३५ वर्षीय सुजन तामाङ घाइते भएका थिए। उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
घाइते हुनेमा पसलका सञ्चालक, बाँकेको वैजनाथ गाउँपालिका–१ का ५४ वर्षीय खगेश्वर शर्मा र रसुवा जाँदै गरेको बसमा सवार ८ वर्षीय सफलता पुलामी मगर रहेका छन्।
दुर्घटनामा संलग्न बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ र अनुसन्धान भइरहेको बताइएको छ।



