पोखरामा छैटौँ ‘टाइगर कप’ भलिबल माघ ९ देखि, विदेशी टोलीसहित १४ क्लबको सहभागिता

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 3 मिनेट

९ पुस,काठमाडौँ । पर्यटकीय सहर पोखरामा आगामी माघ ९ देखि १७ गतेसम्म छैटौँ संस्करणको ‘टाइगर कप’ राष्ट्रिय/अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । महिला र पुरुष दुवै विधामा हुने प्रतियोगिताको तयारी तीव्र रूपमा अघि बढाइएको आयोजकले जनाएको छ ।

आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिँदै यस संस्करणमा सात महिला र सात पुरुष गरी कुल १४ टोलीको सहभागिता सुनिश्चित भएको बताएको हो ।

टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माका अनुसार महिलातर्फ थाइल्यान्डका दुई टोली र पुरुषतर्फ माल्दिभ्सको राष्ट्रिय टोली तथा भारतको गुजरात भलिबल क्लब गरी चार विदेशी टोली सहभागी हुनेछन् । बाँकी टोली नेपालका विभागीय र क्लबस्तरीय हुनेछन् ।

महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्ड, थाइल्यान्ड क्विन्स, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, एपीएफ क्लब, टिपटप न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब तथा एभरेष्ट भलिबल क्लब रुपन्देहीले प्रतिस्पर्धा गर्नेछन् ।

त्यसैगरी पुरुषतर्फ माल्दिभ्स भलिबल एसोसिएसन, भारतको गुजरात भलिबल क्लब, गण्डकी प्रदेश भलिबल सङ्घ, पर्वत जिल्ला भलिबल सङ्घ तथा विभागीय टोली नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब र एपीएफ क्लब सहभागी हुने आयोजकले जनाएको छ ।

छैटौँ संस्करणको च्याम्पियन बन्ने महिला र पुरुष टोलीले समान रूपमा नगद रु छ लाख ६६ हजार ६६६, ट्रफी र मेडल प्राप्त गर्नेछन् । उपविजेताले नगद रु तीन लाख ६६ हजार ६६६ तथा तेस्रो हुने टोलीले नगद रु एक लाख ६६ हजार ६६६ पुरस्कार पाउनेछन् ।

सर्वोत्कृष्ट खेलाडीले नगद रु २६ हजार ६६६ प्राप्त गर्नेछन् भने विधागत उत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान नगद रु ११ हजार ६६६, ट्रफी र प्रमाणपत्र पाउने व्यवस्था गरिएको छ ।

पाँचौँ संस्करणमा पुरुषतर्फ नेपाल पुलिस क्लब र महिलातर्फ आयोजक टाइगर ग्रुपले पहिलो पटक उपाधि जितेका थिए ।

प्रतियोगिता सम्पन्न गर्न करिब रु एक करोड ८० लाख खर्च हुने अनुमान गरिएको छ । अध्यक्ष शर्माले स्वदेश तथा विदेशमा रहेका भलिबलप्रेमीलाई सहयोगका लागि आह्वान गर्दै प्रतियोगिताबाट हुने बचत रकम शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा खर्च गरिने जानकारी दिए ।

प्रतियोगितालाई भव्य र व्यवस्थित बनाउन एक सय सात सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ भने १४ वटा उपसमितिमार्फत तयारीलाई तीव्र बनाइएको आयोजक संस्थाले जनाएको छ ।

Leave a Comment