इरानसँगको तनावबीच अमेरिकी नौसेना प्रमुखको राजीनामा लिड:

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौँ — इरानसँग बढ्दो तनावका बीच अमेरिकाका नौसेना प्रमुख जोन फालनले पदबाट राजीनामा दिने भएका छन्।
इरानसँगको सम्बन्ध तनावपूर्ण भइरहेका बेला अमेरिकाका नौसेना प्रमुख जोन फालनले पद छोड्ने निर्णय गरेका हुन्। पेन्टागनका प्रवक्ता सिन पर्नेलले सामाजिक सञ्जालमार्फत फालनको राजीनामापछि नौसेनाका उपसचिव हङ काओ कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हाल्ने जानकारी दिएका छन्।
पछिल्लो समय अमेरिकामा वरिष्ठ सैन्य अधिकारीहरूको राजीनामा र पदमुक्त हुने क्रम बढिरहेको छ। केही साताअघि मात्रै रक्षामन्त्री पिट हेगसेथले सेना प्रमुख र्‍यान्डी जर्जलाई राजीनामा दिन निर्देशन दिएका थिए। यसअघि जनरल डेभिड होडने र मेजर जनरल विलियम ग्रिनलाई पनि पदबाट हटाइएको थियो।
पेन्टागनमा नेतृत्व सम्हालेयता हेगसेथले नौसेना अपरेसन प्रमुख र वायुसेना उपप्रमुखसहित दर्जनभन्दा बढी उच्च सैन्य अधिकारीलाई हटाइसकेका छन्।
फालन भने सैन्य पृष्ठभूमिबिना नै सन् २०२५ मार्चमा नौसेना प्रमुख नियुक्त भएका थिए। उनलाई सन् २०२४ मा राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त पदमा नियुक्त गरेका थिए।
उनका उत्तराधिकारीका रूपमा कार्यवाहक जिम्मेवारी सम्हाल्ने हङ काओ भने लामो समयदेखि नौसेनामा आबद्ध छन्। उनी करिब २५ वर्षदेखि सेवामा रहँदै आएका छन् र सन् २०२५ अक्टोबरमा उपसचिव बनेका थिए।
यसैबीच, इरान र अमेरिकाबीच वार्ताको सम्भावना पनि देखिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले छिट्टै वार्ता हुन सक्ने संकेत दिएका छन् भने इरानका राष्ट्रपति मसुद पेजेस्कियानले वार्तालाई सकारात्मक रूपमा लिए पनि धम्कीपूर्ण वातावरणले प्रक्रिया प्रभावित भइरहेको बताएका छन्।

Leave a Comment