कोशी–गण्डकीमा भारी वर्षाको चेतावनी, देशभर बदली र मेघगर्जनको सम्भावना

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, वैशाख १५ — जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) देशका विभिन्न भागमा बदलीसहित वर्षाको सम्भावना रहेको जनाएको छ। विशेषगरी कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित पानी पर्ने पूर्वानुमान गरिएको छ।
मौसमविद् सरोज पुडासैनी का अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा थोरै स्थानमा पानी वा हिमपात हुन सक्ने देखिएको छ।
उनका अनुसार कोशी प्रदेशका हिमाली तथा पहाडी भूभाग र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। यसले स्थानीय रूपमा बाढी, पहिरो तथा सडक अवरोधको जोखिम बढाउन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
यसैबीच, बुधबार पनि मौसममा खासै सुधार नआउने देखिएको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा जारी रहने अनुमान गरिएको छ। केही स्थानमा भारी वर्षाको सम्भावना कायमै रहने मौसमविद्हरूले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सावधानी अपनाउन र यात्रा गर्दा सतर्क रहन आग्रह गरेको छ।

Leave a Comment