३० वैशाख, जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको पद संकटमा परेको छ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्र मधेश सरकारबाट बाहिरिने तयारी गरेपछि मुख्यमन्त्री यादवको पद संकटमा परेको हो । दुई पार्टीले आज आइतबार नै मधेश सरकार छाड्ने तयारी गरेको एक नेताले जानकारी दिए ।
मधेश प्रदेशमा जनता समाजवादी पार्टी नेपालका नेता यादव मुख्यमन्त्री छन् । उनी नेतृत्वको मन्त्रिपरिषदमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी छन् । नेपाली कांग्रेस, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी भने सरकार बाहिर छन् ।
जनता समाजवादी पार्टी नेपाल विभाजन भएर अशोक राई नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा) गठन भएको छ । मधेशमा जसपा नेपाल बाहेकको सरकारको अन्तरिक प्रयास भइरहेको छ ।
१०७ सदस्यीय मधेश प्रदेशसभामा एमालेका २३, माओवादीका ९, लोसपाका ८, जनमतका १३, एकीकृत समाजवादीका ७ जना सांसद छन् । यो संख्या नयाँ सरकार गठनका लागि आवश्यक बहुमत हो ।
जनमतले उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल बाहेकको दलको नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने बताउँदै आएको छ ।