बारा — नेपाल पत्रकार महासंघ बारा शाखाले जिल्लाका सबै पालिकाहरूलाई सम्बोधन गर्दै सञ्चार क्षेत्रसँग सम्बन्धित विषयमा गम्भीर ध्यानाकर्षण गराएको छ।
महासंघका अनुसार नेपाली सञ्चार क्षेत्र लामो समयदेखि आर्थिक संकटबाट गुज्रिरहेको छ। यसका कारण श्रमजीवी पत्रकारहरूले नियमित पारिश्रमिक पाउन नसकेको र सञ्चार माध्यमहरू सञ्चालनमै चुनौती थपिएको उल्लेख गरिएको छ। यस्तो अवस्थाले सञ्चार संस्थाहरूको निरन्तरतामै प्रश्न उठाएको महासंघको भनाइ छ।
पत्रमा २०८२ चैत १५ गते संघीय सरकारको सचिवस्तरीय निर्णयअनुसार सरकारी विज्ञापनसम्बन्धी व्यवस्था लागू गरिँदा नेपाली सञ्चार माध्यमहरू प्रभावित भएको उल्लेख गरिएको छ। महासंघले उक्त निर्णयले पत्रपत्रिका, रेडियो, अनलाइन तथा टेलिभिजनलाई प्रत्यक्ष असर पारिरहेको जनाएको छ।
विशेषगरी सरकारी सञ्चार माध्यममा मात्रै सरकारी विज्ञापन प्रकाशन तथा प्रसारण गर्ने निर्देशले निजी तथा सामुदायिक सञ्चार माध्यमहरू मारमा परेको महासंघको ठहर छ। यसलाई महासंघले अन्यायपूर्ण र विभेदकारी निर्णयका रूपमा व्याख्या गरेको छ।
महासंघले स्थानीय तहहरूलाई सञ्चार माध्यमको संरक्षण र प्रवर्द्धनमा ध्यान दिन आग्रह गर्दै विगतमा जस्तै विज्ञापन उपलब्ध गराउन अनुरोध गरेको छ। साथै, जिल्लाका १६ वटै पालिकालाई यस विषयमा सकारात्मक पहल गर्न आह्वान गरिएको छ।
महासंघ बारा शाखाका अध्यक्ष रमेश सुवेदीद्वारा हस्ताक्षरित उक्त पत्रमार्फत सञ्चार क्षेत्रको स्थायित्व र पत्रकारहरूको हितका लागि सहयोग गर्न सबै पक्षसँग आग्रह गरिएको छ।
बाराका सबै पालिकालाई नेपाल पत्रकार महासंघको ध्यानाकर्षण
Leave a Comment
Leave a Comment

