काठमाडौं, जेठ ३ : रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नह्यानबीच इरान युद्ध र मध्यपूर्वको पछिल्लो अवस्थाबारे टेलिफोन वार्ता भएको छ।
क्रेमलिनका अनुसार दुवै नेताले क्षेत्रीय तनाव समाधानका लागि राजनीतिक र कूटनीतिक संवादलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्। वार्ताका क्रममा मध्यपूर्वमा बढ्दो अस्थिरताले विश्व शान्ति, ऊर्जा सुरक्षा र अन्तर्राष्ट्रिय अर्थतन्त्रमा पार्न सक्ने असरबारे पनि छलफल भएको थियो।
युएईको सरकारी समाचार एजेन्सीले जनाएअनुसार दुई नेताबीच द्विपक्षीय सम्बन्ध र रणनीतिक साझेदारीलाई थप मजबुत बनाउने विषयमा समेत विचार आदानप्रदान भएको छ।
फोनवार्ताका क्रममा राष्ट्रपति पुटिनले रुस–युक्रेन युद्धसँग सम्बन्धित कैदी आदानप्रदानमा युएईले खेलेको मध्यस्थकारी भूमिकाको प्रशंसा गरेका थिए। उनले मानवीय मुद्दामा युएईले दिएको सहयोगका लागि धन्यवादसमेत व्यक्त गरेका छन्।
यता अमेरिका र इजरायलसँगको युद्ध चर्किँदै जाँदा इरान र युएईबीच पनि आरोप–प्रत्यारोप बढेको छ। इरानले युएईलाई अमेरिका र इजरायलको सहयोगी भएको आरोप लगाएको छ भने युएईले त्यसलाई अस्वीकार गर्दै इरानले आफ्ना आक्रमणलाई जायज ठहर गर्न यस्तो आरोप लगाएको प्रतिक्रिया दिएको छ।
पुटिन–युएई राष्ट्रपतिबीच इरान युद्धबारे छलफल
Leave a Comment
Leave a Comment






