इरानमाथिको आक्रमण अन्तिम समयमा रोके डोनाल्ड ट्रम्प

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं : अमेरिकी राष्ट्रपति Donald Trump डोनाल्ड ट्रम्पले इरानमाथि मंगलबार गर्ने तयारी गरिएको सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको बताएका छन्।
मध्यपूर्वमा जारी तनावबीच कूटनीतिक वार्ता सकारात्मक दिशातर्फ अघि बढिरहेको भन्दै उनले कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्सका नेताहरूको आग्रहपछि आक्रमण रोकिएको बताएका हुन्।
ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले इरानसँगको सम्भावित सम्झौताबारे आशा व्यक्त गरे। उनले इरानसँग कुनै पनि प्रकारको आणविक हतियार नहुने सुनिश्चित गर्नु नै अमेरिकाको मुख्य चासो रहेको बताए।
ट्रम्पका अनुसार वार्ता सफल नभए अमेरिकी सेना कुनै पनि बेला ठूलो स्तरको कारबाहीका लागि तयार अवस्थामा रहनेछ। उनले सैन्य नेतृत्वलाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिइसकेको पनि बताए।
‘हामी ठूलो आक्रमणको तयारीमा थियौँ। मैले त्यसलाई केही समयका लागि रोकेको छु। आशा छ, सधैँका लागि रोकियोस्,’ ट्रम्पले भने।
उनले अहिलेको अवस्था विगतका वार्ताभन्दा फरक र केही सकारात्मक देखिएको उल्लेख गरे। खाडी क्षेत्रका राष्ट्रहरू सम्भावित शान्ति प्रस्तावप्रति आशावादी रहेकाले समाधानको सम्भावना बढेको उनको भनाइ थियो।
यसैबीच अमेरिकी सञ्चारमाध्यमसँग कुरा गर्दै ट्रम्पले युद्ध बिना नै समस्या समाधान गर्न चाहेको बताए। ‘यदि बमबारी नगरी यो विवाद टुंग्याउन सकियो भने म निकै खुसी हुनेछु,’ उनले भने।
यसअघि ट्रम्पले इरानलाई सम्झौताका लागि समय सीमित रहेको चेतावनी दिएका थिए। अमेरिकी दबाब बढिरहेका बेला इरानले भने पाकिस्तानी मध्यस्थकर्तामार्फत आफ्नो धारणा अमेरिकासमक्ष पठाएको जनाएको छ।

Leave a Comment