ह्वाइट हाउस नजिक गोलीबारी, संदिग्ध मारियो

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

अमेरिकाको वासिङ्टन डीसीस्थित ह्वाइट हाउस नजिक शनिबार साँझ गोलीबारी हुँदा एक जना सर्वसाधारण घाइते भएका छन् भने आक्रमणमा संलग्न भनिएका संदिग्धको मृत्यु भएको छ।
घटना १७औँ स्ट्रिट र पेन्सिलभेनिया एभिन्यू क्षेत्रमा भएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्। घटनाको समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसभित्रै रहेका थिए।
प्रत्यक्षदर्शीका अनुसार साँझतिर लगातार गोली चलेको आवाज सुनिएपछि सुरक्षा निकाय तत्काल सक्रिय भएको थियो। त्यसपछि सुरक्षाकर्मीले क्षेत्र नियन्त्रणमा लिएका थिए।
अमेरिकी गोप्य सेवाका अनुसार एक व्यक्तिले झोलाबाट हतियार निकालेर गोली चलाउन थालेपछि सुरक्षाकर्मीले जवाफी कारबाही गरेका थिए। जवाफी गोली लागेर संदिग्ध गम्भीर घाइते भएका थिए। उनलाई अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।
घटनामा एक जना यात्रु घाइते भएका छन्। यद्यपि सुरक्षाकर्मीहरू भने सुरक्षित रहेको जनाइएको छ। राष्ट्रपति ट्रम्पको सुरक्षामा कुनै असर नपरेको अधिकारीहरूले बताएका छन्।
अमेरिकी सञ्चारमाध्यम सीबीएस न्यूजका अनुसार घटनाका क्रममा १५ देखि ३० राउन्डसम्म गोली चलेको अनुमान गरिएको छ। घटनापछि ह्वाइट हाउस आसपासको क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ।

Leave a Comment