काठमाडौं, जेठ २० — एसीसी महिला प्रिमियर कपमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो पहिलो खेलमा कतारलाई ८ विकेटले पराजित गरेको छ। मलेसियाको क्वालालम्पुरस्थित कोलेज तान्कु जाफर ओभलमा भएको खेलमा नेपालले सहज जित निकाल्दै प्रतियोगिताको सुखद सुरुआत गरेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको कतार १६.५ ओभरमा ७६ रनमै समेटियो। कतारका लागि ओपनर गीतरुड चान्दिरुले सर्वाधिक २५ रन बनाइन् भने कप्तान आयशाले १० रनको योगदान दिइन्। अन्य ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन्।
नेपालका बलरहरूले सुरुदेखि नै दबाब कायम राखे। रुबिना क्षेत्रीले ३ विकेट लिएर कतारको इनिङ्स धराशायी बनाउन महत्वपूर्ण भूमिका निभाइन्। कविता कुँवर, रिया शर्मा र पूजा महतोले समान १–१ विकेट हात पारे।
७७ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १०.५ ओभरमै २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। ओपनर बिन्दु रावलले ३० बलमा ३३ रन बनाउँदै जितको आधार तयार पारिन्। पूजा महतो २८ रनमा अविजित रहिन् भने कप्तान इन्दु बर्माले ६ रन जोड्दै टोलीलाई जितसम्म पुर्याइन्।
बिन्दु रावल र पूजा महतोबीच दोस्रो विकेटका लागि भएको ४१ रनको साझेदारी नेपालका लागि निर्णायक बन्यो।
यस जितसँगै समूह ‘डी’ मा रहेको नेपालले प्रतियोगितामा २ अंक जोडेको छ। नेपालले अब आफ्नो दोस्रो खेलमा भुटानको सामना गर्नेछ।
एसीसी महिला प्रिमियर कपमा नेपालको विजयी सुरुआत, कतार ८ विकेटले पराजित
Leave a Comment
Leave a Comment






