काठमाडौँ, २८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनअघि सम्पन्न गर्ने योजना बनाइएका केही जिल्ला र प्रदेश अधिवेशन स्थगित भएका छन्। पार्टीभित्र बढ्दो विवाद र नेतृत्वबीचको प्रतिस्पर्धाका कारण १४ जिल्लामा अधिवेशन हुन नसकेको हो।
आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा हुने राष्ट्रिय महाधिवेशनअघि सबै तहको अधिवेशन सक्ने लक्ष्य राखिए पनि त्यो सम्भव नभएको पार्टीले जनाएको छ। मधेस प्रदेशका सात जिल्लासहित बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लामा अधिवेशन रोकिएको छ।
रास्वपाको केन्द्रीय निर्वाचन आयोगका अनुसार हालसम्म ६३ जिल्लामा मात्र अधिवेशन सम्पन्न भएको छ। बाँकी जिल्लामा देखिएको विवाद तत्काल समाधान हुने अवस्था नरहेकाले महाधिवेशनअघि अधिवेशन नहुने स्पष्ट गरिएको छ।
विशेषगरी मधेस प्रदेशका महोत्तरी, रौतहट, सिराहा, धनुषा, सर्लाही, सप्तरी र बारामा नेतृत्व चयनको विषयलाई लिएर विवाद चर्किएको थियो। केही स्थानमा नेताकार्यकर्ताबीच झडपको अवस्था समेत सिर्जना भएको बताइएको छ।
अधिवेशन हुन नसकेका जिल्ला र प्रदेशबाट महाधिवेशन प्रतिनिधि चयनका लागि पार्टीले वैकल्पिक व्यवस्था गरेको छ। पार्टीका सहमहामन्त्री विपिन आचार्यका अनुसार सम्बन्धित जिल्लाका तदर्थ समितिमार्फत प्रतिनिधि छनोट गरिनेछ। अधिवेशन सम्पन्न भएका जिल्लाको तुलनामा त्यस्ता जिल्लाबाट कम प्रतिनिधि सहभागी गराइने तयारी गरिएको छ।
पार्टीले समावेशी प्रतिनिधित्वको विषय पनि महाधिवेशनमै टुंगो लगाउने जनाएको छ। यसअघि कोशी प्रदेश अधिवेशनको परिणामलाई लिएर समेत असन्तुष्टि देखिएको थियो।
महाधिवेशन नजिकिँदै जाँदा विभिन्न जिल्लामा देखिएको विवाद र अधिवेशन स्थगित हुनु रास्वपाभित्रको आन्तरिक चुनौतीका रूपमा हेरिएको छ।
आन्तरिक विवादले रास्वपाको अधिवेशन प्रभावित, तदर्थ समितिबाटै महाधिवेशन प्रतिनिधि चयन हुने
Leave a Comment
Leave a Comment






