काठमाडौं, जेठ ३० — आयोजक अमेरिका फिफा विश्वकप–२०२६ को उद्घाटन खेलमै प्रभावशाली प्रदर्शन गर्दै विजयी भएको छ। लस एन्जल स्टेडियममा शनिबार बिहान सम्पन्न समूह ‘डी’ अन्तर्गतको खेलमा अमेरिकाले पाराग्वेलाई ४–१ गोलअन्तरले पराजित गरेको हो।
घरेलु टोलीको जितमा फोलारिन बालोगुन नायक बने। उनले दुई गोल गरे भने जियोभानी रेयनाले एक गोल थपे। अमेरिकाले एक गोल आत्मघाती उपहारका रूपमा पनि पाएको थियो। पाराग्वेका मौरिसियोले एक मात्र सान्त्वना गोल फर्काए।
खेलको सातौं मिनेटमै अमेरिकाले अग्रता बनाएको थियो। स्टन म्याकेनीको प्रहार रोक्ने प्रयासमा पाराग्वेका डिफेन्डर डेमियन बोबाडिल्लाबाट आत्मघाती गोल भएपछि घरेलु टोली अघि बढ्यो। त्यसपछि ३१औं मिनेटमा बालोगुनले गोल गर्दै अग्रता दोब्बर बनाए।
पहिलो हाफको इन्जुरी समयमा बालोगुनले व्यक्तिगत दोस्रो गोल गर्दै अमेरिकालाई ३–० को सहज स्थितिमा पुर्याए। दोस्रो हाफमा पाराग्वेले खेलमा फर्कने प्रयास गर्दै ७१औं मिनेटमा मौरिसियोमार्फत गोल गर्यो। तर इन्जुरी समयको अन्तिम मिनेटमा रेयनाले गोल थपेपछि अमेरिकाले ४–१ को स्पष्ट जित दर्ता गर्यो।
यस जितसँगै अमेरिका समूह ‘डी’ मा तीन अंकसहित शीर्ष स्थानमा पुगेको छ। सो समूहमा अमेरिका, पाराग्वे, अस्ट्रेलिया र टर्की रहेका छन्। समूहकै अर्को खेलमा क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले १–१ गोलको बराबरी खेलेका थिए।
विश्वकपको सुरुवाती खेलमै प्रभावशाली जित निकाल्दै अमेरिकाले उपाधि यात्राको बलियो संकेत दिएको छ।
विश्वकप फुटबल : पाराग्वेमाथि अमेरिकाको दमदार जित, विजयी सुरुवात
Leave a Comment
Leave a Comment






