काठमाडौं, असार २१ — कप्तान केलियन एमबाप्पेको निर्णायक पेनाल्टी गोलको मद्दतमा फ्रान्सले फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ। फिलाडेल्फियामा सम्पन्न प्रि–क्वाटरफाइनल खेलमा फ्रान्सले पाराग्वेलाई १–० ले पराजित गर्दै उपाधितर्फको यात्रा कायम राखेको हो।
पाराग्वेले पहिलो हाफभरि सशक्त रक्षात्मक प्रदर्शन गरेपछि फ्रान्सले गोल गर्ने अवसर सिर्जना गर्न संघर्ष गर्नुपरेको थियो। बलमाथि अधिकांश समय नियन्त्रण राखे पनि फ्रान्सका आक्रमणहरू प्रभावकारी बन्न सकेनन्।
दोस्रो हाफमा भने फ्रान्सले खेलमा दबाब बढायो। उसमान डेम्बेले र मनु कोनेले लगातार आक्रमण बुने पनि पाराग्वेका गोलकिपर ओर्लान्डो गिलले उत्कृष्ट बचाउ गर्दै टोलीलाई खेलमा टिकाइराखेका थिए।
तर खेलको ६९औँ मिनेटमा डेसिरे डौएमाथि बक्सभित्र भएको फउललाई भिडियो सहायक रेफ्री (VAR) ले पुष्टि गरेपछि फ्रान्सले पेनाल्टी पायो। त्यसलाई कप्तान एमबाप्पेले कुनै गल्ती नगरी गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाए, जुन अन्तिमसम्म कायम रह्यो।
योसँगै जारी विश्वकपमा एमबाप्पेको गोल संख्या ७ पुगेको छ। उनी गोल्डेन बुटको दौडमा लियोनेल मेस्सीसँग बराबरीमा रहेका छन् भने असिस्टका आधारमा शीर्ष स्थानमा छन्। साथै, विश्वकप इतिहासमा उनको कुल गोल संख्या १९ पुगेको छ, जसले उनलाई मेस्सीको २० गोलको कीर्तिमानभन्दा केवल एक गोलले पछाडि राखेको छ।
अब फ्रान्सले सेमिफाइनल प्रवेशका लागि जुलाई ९ मा बोस्टनमा मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ। आयोजक क्यानडालाई पराजित गर्दै मोरक्को यसअघि नै क्वाटरफाइनलमा पुगेको थियो।
एमबाप्पेको पेनाल्टी गोलले फ्रान्स अन्तिम आठमा, अब मोरक्कोसँग भेट
Leave a Comment
Leave a Comment






