प्रधानमन्त्री ओलीसंग प्रभु साहको प्रश्न, ‘राजदुत नियुक्तिको सिफारिसमा नातागोता, आफन्त, पार्टी कार्यकर्ता किन ?’

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 90
पढ्न लाग्ने समय : 3 मिनेट

२१ साउन, काठमाडौ : आम जनता पार्टी (आजपा) अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले राजदुत नियुक्तिका लागि आफ्ना नातागोता, आफन्त, पार्टी कार्यकर्ताको नाम सिफारिस गरेकोमा त्यसलाई तत्काल सच्याउन माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै साहले राजदूत नियुक्तीमा सिफारिश नै गलत भएको भन्दै तत्काल सच्याउनुपर्ने माग गरेका हुन।

उनले नेताहरुले आफ्ना आफन्त र नातागोता, कार्यकर्तालाई व्यवस्थापन गर्नको लागि राजदूत नियुक्त गरेको भन्दै आलोचना गरे ।

चीन, अमेरिका, बेलायतलगायत विभिन्न १९ देशमा राजदूतमा सिफारिश नाम हेर्दा संविधानअनुसार नभएको भन्दै उनले आलोचना गरे ।

उनले १९ जना राजदूतहरुको नाम सिफारिश हुँदा एकजनापनि मधेशी, दलित, मुस्लिम नपरेको र समावेशीअनुसार महिलाको पनि ३३ प्रतिशत सुनिश्चित् हुन नसकेको भन्दै सरकारको आलोचना समेत गरे ।

सरकारले आफ्नो नागरिकको सुरक्षाको प्रत्याभूति गराउन र त्यो देशसँगको सम्बन्ध सुमधुर बनाउनको लागि राजदूतहरु नियुक्त गर्दै आएकोमा पछिल्लो समय जसरी राजदूतहरु नियुक्त हुने काम भैरहेको छ त्यसले देशको इमेज नै ध्वस्त बनाएको साहले बताए ।

‘अहिले जसरी राजदूतहरु नियुक्तीको लागि नाम सिफारिश भएका छन्, त्यसले कुटनीतिक मर्यादासमेत उल्लंघन गरेको छ । कुटनीतिबारे केही पनि नजानेका मान्छेहरु राजदूत नियुक्तीको लागि सिफारिशमा परेका छन् ।

सो क्रममा उनले सरकारले कहिले राजदूत पठाउने अनि कहिले फिर्ता गर्ने काम गरेकोमा पनि आलोचना गरे ।

उनले बिनाकारण राजदूत फिर्ता बोलाईने गरिएकोमा यसले देशको लागि राम्रो नहुने टिप्पणी गरे ।

राजदूत नियुक्तीको विषयमा उनले सरकारले संविधानलाई नमानेको आरोप लगाए । उनले भने, ‘संविधान बनाउने बेलामा ५१ प्रतिशत महिलाहरुलाई जम्मा ३३ प्रतिशत बनाउनुभयो, अनि दिने बेलामा यस्तो विभेद ? के महिलाहरु योग्य छैनन् ? अनि भएकापनि योग्य देखिए त ? व्यक्तिको वरिपरि घुम्नेहरु योग्य हुन्छ त ? राजदूत हुनको लागि कसैको ज्वाँई हुनुपर्ने ? कसैको काका हुनुपर्ने ? अनि कसैको सासु हुनुपर्ने ? कसैको निजी डक्टर हुनुपर्ने ? कसैको भाई बुहारी हुनुपर्ने ? यसरी नियुक्ती गरेर देशलाई बदनाम गर्न मिल्छ ? कुटनीतिक क्षेत्रलाई अस्तव्यस्त गर्न मिल्छ ? जसरी नियुक्ती प्रक्रिया भैरहेको छ, समावेशी पनि नहुने ? समावेशी गर्दा योग्यको कुरा आउँछ, जो गर्नुभएको छ त्यो पनि योग्य देखिएन नि ।’

साहले राजदूत नियुक्तीको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसंग जवाफ माग गरे । अहिलेको राजदूत नियुक्तीको सिफारिश समेत फिर्ता लिनुपर्ने माग उनले गरे ।

सम्बोधनको क्रममा उनले बंगलादेशको पछिल्लो अवस्थाबारे चित्रण गर्दै त्यहाँ रहेका नेपालीहरुको सुरक्षा अवस्था के कस्तो छ भनेर सरकारसँग जवाफ पनि साहले मागेका छन् ।

बंगलादेशमा रहेका विद्यार्थीहरु र नागरिकको सुरक्षा अवस्था कस्तो छ ? भन्ने विषयमा सरकारसँग उनले जानकारी माग गर्दै उनीहरुलाई सुरक्षित रुपमा नेपाल ल्याउँनुपर्ने माग गरे ।