२० भदौ, बारा: बाराको सदरमुकाम कलैयामा विगत केही दिन यता चोरीको घटनामा वृद्धि भएको छ ।
कलैया उपमहानगरपालिका १ स्थित बजारमा विहिवार विहान ६ वटा पसलको सटर फोडी चोरहरुले चोरी गरेका छन्।
कलैया उपमहानगरपालिका १ स्थित कलैया बजारमा सुनिल कुशवाहाले संचालन गर्दै आएको रिया रेडिमेड सेन्टरको सटरको ताला फोडी रेडिमेड सरसमानहरु र केही रुपैया समेत लुटी लगेको कुशवाहाले बताए ।
यसै गरि नन्दलाल साहले संचालन गर्दै आएको पान पसलबाट ३० हजार भन्दा बढी सरसमान र रुपैया चोरी भएको संचालक नन्दलाल साहले बताए ।
केही दिन अगाडी पनि चोरहरुले सटरको ताल्चा फोडी पान पसलबाट नगद र सरसमान लुटि लगेको उहाँले बताउनुभयो ।
यसै गरि नेहा शु सेन्टरबाट चप्पल र जुत्ता चोरी भएको छ भने विजय जेनेरल स्टोर्सको सटरको ताल्चा फोडी चोरहरुले सरसमान र नगद लुटी लगेको जनाइएको छ ।
ज्योती जेनेरल स्टोर्सबाट १५ हजार भन्दा बढीको गुटका चोरहरुले चोरि लगेको ज्योती जेनेरल स्टोर्सका संचालक दिपक दासले बताए ।
त्यसै गरि रामचन्द्र साहले संचालन गरेको चियापसलको ताल्चा फोडी चोरहरुले केही नगद रुपैयाँ लुटी लगेको चियापसल संचालक साहले बताए ।
दिनहुँजसो चोरीको घटनामा वृद्धि हुँदा समेत प्रहरी प्रशासन मुकदर्शक बनेर बसेको साहले आरोप लगाए ।
चौबिसौ घण्टा प्रहरीको निगरानीमा रहने कलैया बजार जस्तो ठाउँमा चोरी हुनु दुःखद कुरा हो, रिया रेडिमेडका संचालक सुनिल कुशवाहाले भने,‘प्रहरीले आफनो डयुटी इमान्दारीपूर्वक नगर्दा नै चोरीको घटनामा वृद्धि भएको हो ।
११ बजे राती पछि सदरमुकामको मुख्य चौक भरतचौकमै प्रहरी हुँदैन । गस्ती पनि बन्द छ । प्रहरी गस्ती नहुँदा चोरहरुको मनोबल बढेको हो । पहिला पहिला कहिलेकाही मात्र चोरी हुन्थ्यो तर अब त दिनहुँ जसो चोरीको घटनामा वृद्धि हुन थालेको उनले बताए ।’
बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साहले चोरीको घटना वृद्धि हुनु प्रहरी प्रशासनको लागि लज्जास्पद कुरा भएको बताए ।
दिनहुँ जसो गस्तीको काम भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले बताए ।