शनिबार, २९ कात्तिक, काठमाडौं । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफूलाई सुरक्षा खतरा रहेको बताएका छन्। जनकपुरमा मधेसबासीलाई सम्बोधन गर्दै यादवले सुरक्षाकर्मीहरूले उनलाई सम्भावित चुनौतीको चेतावनी दिएको उल्लेख गरे। उनले आन्दोलनकारीहरूले आफूलाई निशाना बनाएको दाबी पनि गरे।
मुख्यमन्त्री यादवले भने, “आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सुरक्षा भए पनि मलाई सुरक्षा ‘थ्रेट’ छ।” उनले संवैधानिक रूपमा सरकारको नेतृत्वमा आएको उल्लेख गर्दै, कुनै पनि विवाद वा माग भए संवादमार्फत समाधान खोज्न आन्दोलनकारी राजनीतिक दललाई आग्रह गरे।
यादवले आफ्नो सुरक्षा चुनौती हुँदा अन्य दलका नेताहरूलाई पनि अप्ठ्यारो पर्नसक्ने चेतावनी दिए। उनले भने, “सुरक्षा खतरा मलाई कोबाट छ? जनताबाट होइन, आन्दोलनकारीबाट। यदि म सुरक्षित छैन भने अन्य माननीयहरू सुरक्षित हुन सक्छन्?”
साथै उनले वीरगञ्जस्थित भारतीय काउन्सिलर प्रतिनिधिहरूले मधेसमा राजनीतिक गतिविधि प्रभावित गर्दै आन्दोलन भड्काउने र दलहरू फुटाउने प्रयास गरिरहेको आरोप लगाए। यादवले भने, “काउन्सिलर अफिसका प्रतिनिधिहरू दलहरूसँग प्रत्यक्ष संवाद गरेर थ्रेट दिन्छन्, दलहरू जुटाउँछन् र फुटाउँछन्। यसले दिनप्रतिदिन अस्थिर वातावरण सिर्जना गरेको छ।”
मुख्यमन्त्री यादवले भारतीय पक्षको दबाबका कारण मधेसमा आन्दोलनकारीसँग वार्ताका लागि अनुकूल वातावरण पनि सिर्जना हुन नसकेको बताए।



Leave a Reply