आम जनता पार्टी (आजपा)ले पार्टी अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको नाम राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार उल्लंघनकर्ताको रुपमा राखेकोमा आपती जनाएको छ ।
आजपा प्रवक्ता चन्द्रभुषण साहले आज एक बिज्ञप्ती जारी गर्दै बिना कुनै आधार प्रमाण कपोलकल्पित, कुण्ठित एवं पूर्वाग्रही ढंगले मानव अधिकार उल्लंघन कर्ताको रुपमा किटान÷इंगित गरि आयोगद्वारा सम्प्रेषित आपत्तिजनक सूचना सच्याउन माग गरेका छन् ।
साथै आजपाले साहको नाम मानवअधिकार उल्लंघन कर्ताको सूचीबाट हटाउन माग समेत गरेको छ । ‘देश र जनताको सर्वोपरि हित केन्द्रित रही अनवरत क्रियाशील हाम्रो गौरवशाली पार्टी आम जनता पार्टीका आदरणीय प्रमुख नेतृत्व मा. प्रभु साहज्यूको नाम बिना कुनै आधार प्रमाण कपोलकल्पित, कुण्ठित एवं पूर्वाग्रही ढंगले मानव अधिकार उल्लंघन कर्ताको रुपमा किटान÷इंगित गरि मानव अधिकार आयोगद्वारा सम्प्रेषित आपत्तिजनक सूचनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’ साहले बिज्ञप्तीमा उल्लेख गरेका छन् ।
अध्यादेशको चोर बाटो र भागबन्डाको राजनीतिमा केवल निगाह र कृपादृष्टिको भरमा महत्वपूर्ण एवं संवेदनशील संवैधानिक आयोगमा नियुक्ति लिने र कुनै अमुक व्यक्ति वा पार्टीको लंगोट बनि सम्मानित संस्थाको समेत मानमर्दन हुनेगरी हुर्मत लिने तथा समाजको एउटा प्रतिष्ठित व्यक्ति एवं पटक पटक जनअनुमोदित प्रतिनिधिको चरित्र हत्याको दुस्प्रयास गर्ने छुट आजको २१औं शतब्दीमा कसैलाई पनि नभएको आजपाले जनाएको छ ।
आयोगको यस किसिमको गैरजिम्मेवार हर्कत गर्नु आफैँमा दुखद, निन्दनीय एवं अपराधीक कार्य समेत हुने भएकोले आजपाले सम्बन्धित पक्ष समयमैं गम्भीर जिम्मेवार एवं जवाफदेही बन्न जरूरी रहेको जनाएको छ ।
यस अपरिपक्व एवं लापरवाहीपूर्ण सम्प्रेषणप्रति स्वयं पार्टी अध्यक्ष साहले असन्तुष्टि एवं आक्रोशका साथ ‘कुन घटनामा – कहिले र कसको मानव अधिकार हनन भएको हो ? भन्ने सत्य, तथ्य सार्वजनिक गरी अपराध प्रमाणित गर्न आयोगका पदाधिकारीहरुलाई खुला चुनौती समेत दिएकाले आयोग अब मौन बस्न नमिल्ने आजपाको भनाई रहेको छ ।
‘तसर्थ, मानव अधिकारको रक्षा र विधिको शासन सहित सामाजिक न्याय, सुशासन, बदलाव, विकास र समृद्धिका निम्ति निरन्तर वकालत गर्दै आएको कारण हाम्रो पार्टीको बढ्दो प्रभाव, सक्रियता एवं लोकप्रियताबाट आतंकीत भई पार्टी अध्यक्षको चरित्र हत्या एवं मानमर्दन हुने किसिमले आएको यो निराधार सम्प्रेषणलाई आयोग वा यसमा संलग्न पदाधिकारीले यथाशीघ्र सच्चाई सार्वजनिक रुपमा क्षमा याचना गर्नुपर्छ’ आजपाले जारी गरेको बिज्ञप्तीमा भनिएको छ, ‘अन्यथा हामी कानूनी उपचार सहित थप विभिन्न प्रारुपमा चरणबद्ध संघर्ष गर्न बाध्य हुनैपर्छ र यसबाट सृजित हुने सम्पूर्ण क्षतिको जिम्मेवारी आयोग र नेपाल सरकारले नै लिनुपर्ने बिषय अग्रीम रुपमा चेतावनीका साथ अवगत समेत गराउँन चाहन्छौं ।’