पूर्वराजा ज्ञानेन्द्रले बुझ्न मानेनन् काठमाडौं महानगरपालिकाको जरिवाना पत्र

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 58
पढ्न लाग्ने समय : 1 मिनेट

१७ चैत, काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं महानगरपालिकाले पठाएको जरिवाना पत्र बुझ्न अस्वीकार गरेका छन् ।

गत शुक्रबार तीनकुनेमा उनकै उक्साहटमा भएको आन्दोलनका क्रममा भएको फोहोर र तोडफोटको मूल्याङ्कन गरी महानगरपालिकाले ७ लाख ९३ हजार जरिवाना तोकेर पत्र काटेको थियो ।

उक्त पत्र लिएर निर्मल निवास पुगेको महानगरपालिकाको टोलीलाई त्यहाँबाट फिर्ता पठाइएको छ ।

  1. ज्ञानेन्द्र शाहले पत्र बुझ्न नमानेपछि टोली यत्तिकै फर्केको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।

निर्मल निवासले जरिवानाको पत्र बुझ्न नमानेपछि काठमाडौं महानगरपालिकाले कानुनी प्रक्रियामा गएर भएपनि उठाउने भएको छ ।

‘हामीले दिएको पत्र बुझ्न नमानेपछि हाम्रो टोली फर्किएको छ । अब हामी प्रक्रियागत ढंगले असुलउपर गर्छौं,’ महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले भने ।

उनका अनुसार नगर प्रहरीलाई निर्मल निवासको गेटमै रोकिएको हो ।
महानगरका कानुनी सल्लाहरका अधिवक्ता ओम प्रकाश अर्यालले पत्र बुझ्न नमाने पत्रीकामा सूचना निकाल्ने, हुलाक मार्फत चिठी पठाउन पनि सकिने बताए । ‘सिधै पत्र बुझ्न नपाए अन्य वैकिल्पक प्रक्रिया पनि अवलम्बन गर्ने अभ्यास छ । त्यति हुँदा पनि उठेन भने आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ अनुसार उठाउन सकिन्छ,’ उनले भने ।

ऐनको दफा ४९ अनुसार केन्द्रीय तहसिलको कार्यालयले लगत कायम गरेर असुल उपर गर्न सक्ने व्यवस्था रहेको छ ।

Leave a comment