बारा — बारामा बुधबार साँझ भएको दुर्घटनामा राष्ट्रिय अनुसन्धान विभागका एकजना पुर्व अधिकृतको मृत्यु भएको छ। राष्ट्रिय अनुसन्धान विभागका पुर्व प्रहरी नायब उपरीक्षक विष्णु थापाको सवारी दुर्घटनामा मृत्यु भएको हो।
मानमत-मटिअर्वा सडक खण्डको कलैया उपमहानगरपालिका-१६ उत्तरझिटकैया गाउँमा ट्रीपरको ठक्करबाट घाईते भएका ६० वर्षीय थापाको कलैयाको राजलक्ष्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार थापाले चलाएको ना ३० प ९८३० मोटरसाइकललाई ना ८ ख २१९५ नम्बरको ट्रीपरले ठोकेको थियो ।
जितपुरसिमरा उपमहानगरपालिका-१६ पिलुवाबाट कलैयातर्फ आउँदै गरेका थापाको सवार मोटरसाइकल र कलैयाबाट पिलुवातर्फ जाँदै गरेको टिपर एकआपसमा ठोक्किएको थियो । चालक फरार छन् भने टिपर प्रहरीको नियन्त्रणमा छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी गराउनु भयो । थापाको शव कलैया प्रादेशिक अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ । थापा पछिल्लो समय कलैया-५ घुसुकपुरमा परिवारसहित बस्दै आएका थिए।