२६श्रावण,बारा: मधेस मिडिया काउन्सिल मधेस प्रदेशको आयोजनामा र नेपाल पत्रकार महासंघ बाराको सहकार्यमा पत्रकार आचारसंहिता तथा पत्रकारका समस्या विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम बारामा रहेको पत्रकार महासंघको सभाहलमा सम्पन्न भयो।
मधेस मिडिया काउन्सिलका अध्यक्ष सुरेश यादवले दलिय आस्था भए पनि पत्रकार कहिल्यै गुलाम नहुने बताएका छन्। उनले पत्रकारले समाजको आवश्यकता अनुसार समाचार प्रस्तुत गर्नुपर्नेमा जोड दिँदै रेकर्डिङ तथा फोटो खिच्दा अनुमति लिनुपर्ने र विज्ञापन एकद्वार प्रणालीमार्फत गर्नुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा मधेस मिडिया काउन्सिलका सदस्यहरू बन्दना झा, रिन्कु मिश्र, गायत्री, मनु पासवानलगायतले सामाजिक सञ्जाल र युट्युबरहरूले वास्तविक पत्रकारिता र समाचारलाई ओझेलमा पारिरहेको धारणा राखेका थिए।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवान, मधेस प्रदेश कोषाध्यक्ष अनिल गौरव, सदस्य साजिर मन्सुर, पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदीलगायत बारा जिल्लाका पत्रकारहरूको उपस्थिती रहेको थियो।


