१३भाद्र, बारा : नेपाली कांग्रेस सर्लाहीको कार्यबाहक जिल्ला सभापतिको जिम्मेवारी डा. सरोज कुमारलाई दिइएको छ। पूर्व सभापति सुरेन्द्रप्रसाद सिंहले पदबाट राजीनामा दिएपछि कांग्रेस नेतृत्वले उनलाई कार्यबाहक सभापतिको रूपमा जिम्मेवारी तोकेको हो।
शुक्रबार जिल्ला सभापति सिंहले पार्टी केन्द्रीय कार्यालयमा पत्र पठाउँदै पद त्याग गरेका थिए। पार्टी प्रवेश गरेको करिब १५ वर्षदेखि सक्रिय रहँदै आएका सिंहले संगठन सुदृढ बनाउन योगदान दिएको उल्लेख गर्दै पछिल्लो समय पार्टीभित्र असमानता, अन्याय, गुटबन्दी र जिल्लाभित्रको विवादका कारण असहज महसुस गरेको बताएका छन्।
सिंहले पार्टी नेतृत्वले आफ्नो मान-सम्मान अवमूल्यन गरेको र व्यक्तिगत स्वाभिमानमाथि चोट पुगेको भन्दै असन्तुष्टि प्रकट गरेका थिए। “पार्टीमा देखिएको अन्याय र असमानताका कारण म मानसिक पीडा भोग्न बाध्य भएको छु। त्यसैले अब म जिल्ला सभापति पदमा निरन्तर रहन सक्दिनँ,” उनले राजीनामा पत्रमा उल्लेख गरेका छन्।
उनले पद छोडे पनि भविष्यमा पार्टीको हितमा योगदान रहने प्रतिवद्धता जनाउँदै, लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउन र अनुशासन कायम राख्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन्।
यसैबीच, सिंहको राजीनामापछि सर्लाही कांग्रेसको नेतृत्व सम्हाल्ने जिम्मेवारी कार्यबाहक सभापतिका रूपमा डा. सरोज कुमारलाई दिइनु पार्टीभित्र नयाँ प्रारम्भको संकेतका रूपमा हेरिएको छ।


