काठमाडौं, २८ भदौ।
जेन जेड युवाहरूको आन्दोलनले हालै प्रतिनिधिसभा विघटनसँगै नयाँ प्रधानमन्त्री पाएको भन्दै एक प्रेस विज्ञप्ति जारी गरेको छ। Common Gen Z Nepal का संयोजक विवेक साहद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा आन्दोलनको यो उपलब्धि ठूलो सफलता भए पनि आन्दोलन पूर्ण नभएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “हामीले राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय सरकारको पनि विघटन गरी नयाँ व्यवस्था स्थापित नगरेसम्म हाम्रो माग अधुरो रहन्छ।” साथै, शहीद वीर युवाहरूको बलिदानलाई सार्थक बनाउन सम्पूर्ण तहमा नयाँ प्रणाली कायम गर्न आवश्यक रहेको जेन जेड नेपालले जोड दिएको छ।
युवाहरूले आन्दोलनलाई आंशिक उपलब्धिमा रोक्न नहुने भन्दै अझै निरन्तर संघर्ष जारी राख्ने चेतावनी दिएका छन्। विज्ञप्तिमा भनिएको छ, “अधूरो उपलब्धिलाई पूर्ण दिन संघर्षलाई जारी राख्नुपर्छ, गलत व्यवस्था विरुद्ध हाम्रो अभियानलाई पूरा गर्न जरुरी छ।”
यससँगै Gen Z Nepal ले सबैलाई एकताबद्ध भएर भ्रष्ट प्रणालीविरुद्ध निरन्तर लड्न आह्वान गरेको छ।


