खुद्रे आयोजना कटौती गर्ने अर्थमन्त्री खनालको निर्णय, पौडेलले झपारे

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौँ -३० भदौ।
नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले खुद्रे आयोजनाहरू अघि नबढाउने निर्णय गरेका छन ।
अर्थ मन्त्रालयमा सोमबार पदबाहालीपछि अर्थका अधिकारीहरूसँगको छलफलमा खुद्रे आयोजनाहरू हटाउन कार्यदल गठन गर्ने पहिलो निर्णय गरेका छन ।
६ महिनाभित्र कुनै हालतमा निर्वाचन गर्नुपर्ने भएकोले खुद्रे आयोजना कटौती गरेर १ खर्ब जोहो गर्न लागिएको र अहिलेको सरकार पूरक बजेटको सोचमा नरहेको समेत स्पष्ट पार्दै राजनीतिक दबाबमा बजेटमा छिराइएका आयोजनाहरूलाई अघि बढाईने छैन ।
अर्थमन्त्री खनालले हामीसँग दुई उपाय छ, पहिलो–बजेट भित्र रहेर फजुल खर्चका लागि गरिएका विनियोजन कटौती र दोस्रो–बजेट भित्र रहेर तयारी नभएका, कुनै किसिमको अध्ययन नगरी प्रोजेक्ट बैंकमा अन्तिम घडीमा राजनीतिक दबाबमा छिराइएका आयोजनाहरूमा राखिएका रकम निकाल्ने ।

अर्थमन्त्री खनाललाई पर्वतका पौडेलले झपारे
अर्थमन्त्री खनालले पदभार ग्रहण गरेर कर्मचारीहरूसँग ब्रिफिङ र निर्देशन गर्ने क्रममा पर्वतका शालिकराम पौडेलले ७ वटा जिल्लालाई मात्रै तोकेर बजेट बनाइएको छ । हाम्रा गाउँकालाई बजेट छैन,’कर्मचारीलाई आफूले बोलेको कुरा नोट गर्न निर्देशन दिइरहेका मन्त्री खनालको छेउमा पुगेका पौडेलले भने । 
त्यसपछि मन्त्री खनालले ‘एक छिन ल’ भन्दै रोक्दा उनी थप जङ्गिए । ‘हामीले पनि आन्दोलन गरेका हौँ । तपाईँ त्यसै मन्त्री भएको हो र ? कुरा सुन्नुस् यहाँ,’ भन्दै आक्रोश व्यक्त गर्न थाले पछि प्रहरीले उनलाई तानेको थियो ।  
तर उनी नरोकिएपछि मन्त्री खनालले हात मिलाउँदै ‘हुन्छ, हजुरको शुभ नाम के पर्‍यो ?’ भनेर सोधेका थिए । जवाफमा पौडेलले आफ्नो परिचय दिँदै मन्त्रालयमा बदमासहरू रहेकोले आन्दोलन भएको बताएका थिए । ‘एक छिन मन्त्री भएर हुन्छ, काम गर्न कति सजिलो छ र ?’ उनले प्रश्न गरेका थिए ।

Leave a Comment