ओलीको प्रहार : ‘गौरीबहादुर कार्की आयोग नक्कली, एमालेलाई मान्य छैन’

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, असोज २३

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जेनजी विद्रोहमाथि सरकारले गठन गरेको छानबिन आयोगप्रति कडा असन्तुष्टि जनाएका छन्। भक्तपुरको गुन्डुमा आयोजित कार्यक्रममा ओलीले गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई ‘पक्षपातपूर्ण र नक्कली’ भन्दै अस्वीकार गर्ने घोषणा गरे।

‘पहिले नै केपी ओली समात्नुपर्छ, थुन्नुपर्छ भन्ने सोचका मान्छेहरूले बनाएको आयोगबाट निष्पक्ष प्रतिवेदन आउँछ भन्ने कुरा हास्यास्पद हो,’ ओलीले भने, ‘त्यो आयोग र त्यसले ल्याउने प्रतिवेदन एमालेका लागि मञ्जुर छैन।’

उनका अनुसार सरकारले राजनीतिक प्रतिशोधका आधारमा आयोग गठन गरेको छ। ‘जसले आन्दोलनकै बेला पूर्वाग्रही टिप्पणी गरेको थियो, उसैलाई नेतृत्वमा राखेर छानबिन आयोग बनाउने ? यो न्याय होइन, नाटक हो,’ ओलीको भनाइ थियो।

जेनजी आन्दोलनका क्रममा राज्यद्वारा भएको दमनबारे छानबिन गर्न सरकारले २३ भदौमा कार्कीको नेतृत्वमा आयोग गठन गरेको थियो। तर कार्कीले त्यही आन्दोलनका बेला सामाजिक सञ्जालमा लेखेका टिप्पणीलाई लिएर एमालेले सुरुदेखि नै आपत्ति जनाउँदै आएको छ।

ओलीले थपे, ‘नैतिकता भन्ने कुरा पनि केही हुन्छ। विरोधी मानसिकता बोकेर कसरी निष्पक्ष हुन सकिन्छ ? यस्तो आयोग एमालेका दृष्टिमा अस्वीकार्य छ।’

उनको ताजा वक्तव्यले आयोगको प्रतिवेदन सार्वजनिक हुने बेला सरकार र मुख्य प्रतिपक्षबीच फेरि राजनीतिक द्वन्द्व चर्किने संकेत देखिएको छ।

Leave a comment