काठमाडौं, असोज ३० —
आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका तयारीलाई तीव्रता दिँदै निर्वाचन आयोगले आज (बिहीबार) विभिन्न राजनीतिक दलहरूसँग परामर्श सुरु गरेको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने २९ दलहरूलाई छलफलका लागि बोलाइएको छ। बैठक बिहान साढे ११ बजे आयोगको केन्द्रीय कार्यालय, कान्तिपथमा सुरु हुने जानकारी उनले दिए।
भट्टराईले भने,
“निर्वाचनका तयारीबारे दलहरूलाई जानकारी दिने र उनीहरूबाट सुझाव संकलन गर्ने उद्देश्यले आजको बैठक आयोजना गरिएको हो।”
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढलेको थियो। त्यसपछि भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बनेकी थिइन्। उनको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गर्दै आगामी फागुन २१ गतेका लागि निर्वाचन मिति तोकेका हुन्।
अन्तरिम सरकारले निर्वाचन सम्पन्न गराउने प्रमुख जिम्मेवारी पाएको छ। त्यसअनुसार निर्वाचन आयोगले आवश्यक तयारीलाई अघि बढाउँदै दलहरूबीच समन्वय र सुझाव संकलनको प्रक्रिया सुरु गरेको हो।



Leave a Reply