4 जेठ,बारा : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले छानबिनको बहानामा नेपाली कांग्रेसलाई सरकार चाहिएको आरोप लगाएका छन् ।
बाराको प्रसौनी गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको आज शुक्रबार उद्घाटन गर्दै पुर्व प्रधामन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले भने, ‘गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन समितिको माग गरिरहेको कांग्रेसलाई छानबिन समिति चाहिएको होइन। उसलाई त सरकार चाहिएको छ।’
सरकारबाट बाहिरिएर छट्पटाइरहेको कांग्रेस अहिलेको सरकारले गरिरहेका राम्रा कामबाट अत्तालिएको टिप्पणी पनि उनले गरे ।
संसदमा विभिन्न निहुँ खोजेर कांग्रेसले संसदीय मर्यादा विपरीत संसद चल्न नदिएको ओलीले आरोप लगाए ।
ओलीले भने, ‘अहिलेको सरकार अरु कसैले पनि बनाएको होइन। नेपालीले बनाएको सरकार हो। यो कुरा कांग्रेसलाई पचेको छैन।’
भ्रष्टचारको कसूरमा अदालतबाट दोषी प्रमाणित भइसकेका कांग्रेस सांसदहरूले नै संसदमा भ्रष्टचारको छानबिन हुनुपर्छ भनेर नारा लगाउनु हास्यास्पद रहेको ओलीको भनाई छ ।
आफूलाई लोकतन्त्रको मसिहा भन्ने पार्टी कांग्रेसबाट संसदमा भइरहेको अराजकता अशोभनीय रहेको उनको पुर्व प्रधानमन्त्री ओलीको आरोप छ ।
एमालेले मिशन ८४ को नारा लिएर अगाडि बढिरहेको भन्दै एमाले अध्यक्ष ओलीले देशको विकास गर्नका लागि एमालेले नयाँ समीकरणको सरकार बनाएको जिकिर गरे ।
उनले भने, ‘जनता एमालेका साथमा छन् । किनकि सरकारमा मौका पाउँदा एमालेले देशको विकास गरेको छ । मधेसको विकास गरेको छ । देश विकासको जिम्मा एमालेले लिएको छ । आगामी दिनमा पनि जिम्मा लिन्छ ।’ उनले दल र संगठन निर्माणमा मात्र नभई गरिब, किसान, मजदुरको आर्थिक जीवनस्तर उकास्ने काममा लाग्न पार्टीका नेता-कार्यकर्तालाई निर्देशन पनि दिए।
उद्घाटन कार्यक्रमलाई भौतिक पुर्वाधार विकासमन्त्री रघुवीर महासेठ, कृषिमन्त्री ज्वाला साह, सांसद अच्युत मैनाली लगायतले सम्बोधन गरेका थिए ।