नेपाल सुपर सिक्समा अपराजित, आज सामोआसँग टी–२० विश्वकप छनोटको फाइनल भिडन्त

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं :
एसिया तथा ईस्ट एसिया–प्यासिफिक टी–२० छनोटमा नेपालले दुई खेलअघि नै आइसिसी टी–२० विश्वकपको लागि स्थान सुनिश्चित गरिसकेको छ। आज नेपालले च्याम्पियन बन्न सामोआसँग भिड्नेछ।

खेल ओमानको इमारात क्रिकेट ग्राउन्डमा दिउँसो सवा ४ बजे सुरु हुनेछ। तुलनात्मक रूपमा कमजोर समोआलाई हराए नेपाल एसिया तथा ईस्ट एसिया–प्यासिफिक छनोटको च्याम्पियन बन्नेछ।

नेपाल र समोआबीच यो पहिलो भिडन्त हुनेछ। प्रतियोगितामा अपराजित रहेको नेपाल सुपर सिक्समा आठ अङ्कसहित शीर्ष स्थानमा रहेको छ। घरेलु टिम ओमान सात अङ्कसहित दोस्रो स्थानमा छ।

अन्तिम दिन आज ओमानले जापानको सामना गर्नेछ। यदि ओमान विजयी भयो र नेपाल समोआसँग हार्यो भने, रनरेटको आधारमा उपाधि विजेताको निर्णय हुनेछ।

एक दिनअघि घरेलु टिम ओमानलाई आठ रनले हराएपछि कप्तान रोहित पौडेलले आफ्नो टिमको नजर ट्रफीमा रहेको बताए। उनले भने, “हामीले मेहनत गरे अनुसार नतिजा पाएका छौं। आज पनि सम्पूर्ण बलिदान र मेहनत प्रदर्शन गर्नेछौं।”

टी–२० विश्वकपको १०औँ संस्करण सन् २०२६ फेब्रुअरी–मार्चमा भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुँदैछ। नेपालले आगामी विश्वकपमा अझ उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ।

Leave a comment