५ कार्तिक ,जनकपुर
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनका क्रममा सरकारले गरेको दमन र हत्या नेपालकै इतिहासको सबैभन्दा दुःखद घटना भएको बताएका छन्।
बुधबार महोत्तरीको रामगोपालपुर नगरकमिटीद्वारा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उनले जेनजी आन्दोलन दबाउन सरकारले अपनाएको हिंसात्मक नीति र दमनात्मक कार्यप्रति कडा आपत्ति जनाए।
उनका अनुसार गत असोज २३ गते जेनजी युवाहरूले शान्तिपूर्ण रूपमा थालेको आन्दोलनलाई सरकारले बल प्रयोग गरेर दमन गरेपछि दर्जनौँ युवाको मृत्यु र घाइते हुने घटना भएको थियो।
प्रचण्डले भने, “युवाहरूको असन्तुष्टि उचित थियो। सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउँदा उनीहरू सडकमा आउँछन् भन्ने कुरा पहिले नै अनुमान थियो। त्यसैले मैले गोरखाबाटै भनेको थिएँ— युवाहरूका माग जायज छन्।”
पूर्वप्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारले दमनको बाटो छोडेर संवाद र सहमतिको बाटो अवलम्बन गर्नुपर्ने चेतावनी दिए। उनले भने, “देशलाई स्थायित्वतर्फ लैजान निर्वाचन निर्धारित मितिमै सम्पन्न गर्नुपर्छ र जेनजी युवाहरूको माग सम्बोधन गर्न संविधान संशोधन गर्न ढिलाइ गर्नुहुँदैन।”
प्रचण्डले माओवादी केन्द्रले आन्दोलनमा ज्यान गुमाएका युवाहरूलाई ‘शहीद घोषणा गर्ने’ निर्णय गरिसकेको र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग राखेको बताए।
उनले थपे, “२४ गतेको विध्वंसपछि देशमा राज्यविहीनता जस्तो अवस्था आएको थियो, त्यसलाई रोक्न हामीले सहजीकरणको भूमिका खेलेका थियौं।”
त्यसक्रममा उनले अन्तरिम सरकार गठनका लागि माओवादी केन्द्रको भूमिका निर्णायक हुने पनि बताए।
प्रचण्डका अनुसार सुशीला कार्कीको नेतृत्वमा बनेको सरकार वैधानिक रूपमा स्थापित भए पनि केपी ओलीको अहंकारका कारण राजनीतिक संकट गहिरिएको हो।
कार्यक्रममा पार्टी प्रवेश गरेका दर्जनौँ स्थानीय युवाहरूलाई स्वागत गर्दै प्रचण्डले देशलाई नयाँ दिशातर्फ लैजान सबैले एकजुट भएर काम गर्नुपर्ने आवश्यकता औँल्याए।



Leave a Reply