काठमाडौं, कात्तिक ६ । इजराइलले गाजापछि अब वेस्ट बैंकमाथि पनि नियन्त्रण विस्तार गर्ने निर्णय गरेको छ। इजराइली संसद्ले सोमबार वेस्ट बैंक कब्जा गर्ने सम्बन्धी विधेयकलाई अनुमोदन गरेको हो।
संसदमा भएको मतदानमा १२० सदस्यमध्ये २५ जनाले पक्षमा र २४ जनाले विपक्षमा मतदान गरेपछि विधेयक पारित भएको हो। यो विधेयक दक्षिणपन्थी नोआम पार्टीका नेता अवी माओजद्वारा प्रस्तुत गरिएको थियो।
प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र उनको लिकुड पार्टीले भने विधेयकको विरोध गरेका थिए। नेतन्याहूको भनाइअनुसार, अहिले वेस्ट बैंक कब्जा गर्ने निर्णयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्धमा नकारात्मक असर पर्न सक्ने सम्भावना रहेको छ।
तर, नेतन्याहूको गठबन्धनकै केही प्रमुख मन्त्रीहरू — राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन–ग्विइर र अर्थमन्त्री बेजालेल स्मोट्रिचले भने विधेयकको समर्थन गरेका छन्।
रिपोर्टहरूका अनुसार नेतन्याहूले अमेरिकासँग कूटनीतिक तनाव बढ्न नदिन चाहँदा पनि आफ्नो सरकारभित्रको कडा दक्षिणपन्थी दबाबका कारण चुनौतीपूर्ण अवस्था सामना गर्नुपरेको छ।
यो निर्णयसँगै इजराइलले गाजापछि वेस्ट बैंकमा पनि आफ्नो नियन्त्रण विस्तारको प्रक्रिया अघि बढाउने तयारी गरेको छ, जसले मध्यपूर्वमा पुनः तनाव बढ्न सक्ने संकेत देखिएको छ।



Leave a Reply