औपचारिक कार्यक्रममा नबोलाउन आग्रह : शिक्षामन्त्री महावीर पुन

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, कात्तिक १० ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई कुनै पनि औपचारिक कार्यक्रम, उद्घाटन वा शिलान्यास समारोहमा नबोलाउन आग्रह गरेका छन्।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् मन्त्री पुनले देशको शिक्षा र अनुसन्धान क्षेत्र सुधारमा पूर्ण ध्यान केन्द्रित गर्न चाहेकाले अनावश्यक औपचारिक कार्यक्रममा समय खर्च गर्न नचाहेको बताएका छन्।

“कृपया कसैले पनि र कहिँबाट पनि हालको म मन्त्रीलाई उद्घाटन/शिलान्यास कार्यक्रम, प्रमुख अतिथि हुने जस्ता कुनै पनि औपचारिक कार्यक्रमहरूमा निमन्त्रणा गर्दै नगर्नु होला,” मन्त्री पुनले लेखेका छन्।

उनले आफूले युनेस्कोको उज्बेकिस्तानमा हुने महासभा र ब्रिटिश काउन्सिलको नाइजेरियामा आयोजना गरिएको सम्मेलनमा समेत भाग नलिएको जानकारी दिएका छन्। पुनका अनुसार मन्त्रीहरू विदेश जाँदा पनि केवल अत्यावश्यक र नगई नहुने कामका लागि मात्रै जाने गर्छन्।

त्यसक्रममा उनले “विदेश घुम्न गयो” भन्ने भ्रामक टिप्पणी नगर्न पनि सर्वसाधारणलाई आग्रह गरे।

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापकसमेत रहेका पुन मन्त्री बनेपछि आफ्नो सरल र काममुखी कार्यशैलीका कारण चर्चामा रहेका छन्। उनले मन्त्रालयमा पद ग्रहण गरेदेखि नै फिजुलखर्च, औपचारिकता र दिखावटी गतिविधिबाट टाढा रहने सन्देश दिँदै आएका छन्।

Leave a comment