काठमाडौं, पुस १४, २०८२ । प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची बुझाउन पाउने आज अन्तिम दिन हो। निर्वाचन आयोगले तय गरेको कार्यतालिकाअनुसार सोमबारसम्म दलहरूले आफ्नो बन्दसूची आयोगमा पेश गर्नुपर्नेछ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पुस १३ र १४ गते पेश भएका समानुपातिक बन्दसूचीमाथि पुस १५ देखि २० गतेसम्म प्रारम्भिक छानबिन गरिनेछ।
छानबिनपछि आयोगले पुस २१ देखि २७ गतेसम्म दलहरूलाई आवश्यक संशोधन तथा मिलानका लागि समय दिनेछ। त्यस अवधिमा दलहरूले समावेशिता, कानुनी मापदण्ड र सूचीक्रम मिलाउनुपर्नेछ।
आयोगले पुस २८ देखि माघ ३ गतेसम्म परिमार्जित सूची पुनः जाँच गर्नेछ। प्रारम्भिक रूपमा माघ ४ गते बन्दसूची सार्वजनिक गरिने कार्यतालिका रहेको छ भने सबै प्रक्रिया पूरा भएपछि माघ २० गते अन्तिम समानुपातिक सूची प्रकाशन गरिने आयोगले जनाएको छ।
निर्वाचन आयोगले संविधान र कानुनअनुसार महिला, दलित, आदिवासी जनजाति, मधेशी, थारु, मुस्लिम तथा अपांगता भएका व्यक्तिको अनिवार्य प्रतिनिधित्व सुनिश्चित गर्न दलहरूलाई कडाइका साथ निर्देश दिएको छ।

