३ मंसिर, काठमाडौं ।
प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनमा आफू उमेदवार नबन्ने स्पष्ट गर्दै झापाबाट चुनाव लड्न आग्रह भए पनि त्यसलाई सम्मानपूर्वक अस्वीकार गरेकी छन्। बुधबार सिंहदरबारमा राजनीतिक दलहरूसँगको छलफलपछि उनले दिएको समापन मन्तव्यमा यस्तो कुरा उल्लेख गरिन्।
प्रधानमन्त्री कार्कीले भनिन्, ‘झापाबाट चुनाव लड्न भनिएको सुनेकी छु। तर म चुनाव लड्न आएको छैन, लड्दिनँ पनि।’
उनका अनुसार अहिलेको सरकारको मुख्य जिम्मेवारी निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गर्नु हो। उनले भनिन्, ‘हामी चुनापछि देश नयाँ पुस्ताको हातमा जाओस् भन्ने चाहन्छौँ। देशलाई भिजन भएका नेतृत्वकर्ताले सम्हालून् भन्ने हाम्रो अपेक्षा हो।’
कार्कीले खर्चिलो राजनीति अन्त्य गर्नुपर्नेमा जोड दिँदै कम लागतमा प्रतिस्पर्धा गर्न सकिने वातावरण बनाउन सरकार प्रयासरत रहेको बताइन्।
उनले देशमा बढ्दो निराशा, आक्रोश, भ्रष्टाचार र उकुसमुकुसलाई नियन्त्रण गरेर स्थिरता र आशा जगाउने लक्ष्य आफ्नो सरकारको रहेको बताइन्। ‘अब यसलाई सम्हाल्नुपर्छ,’ उनले भनिन्।
प्रधानमन्त्रीले आफू र आफ्नो टोली गाडी चढ्ने रहर, पदको लोभ वा कुनै सुविधाका लागि नभई राष्ट्रको कठिन परिस्थितिमा केही योगदान गर्न आएको स्पष्ट पारिन्।
‘आज पनि म प्रधानमन्त्री हुँ भन्ने अनुभूति खासै छैन। यो समाज बिथोलिएको घडीमा धर्म, इमान र देश सम्झेर केही गर्न सकिन्छ कि भन्ने सोचले आएको हुँ,’ उनले भनिन्।
उनका अनुसार निर्वाचनको सबै तयारी सरकार अघि बढाइरहेको छ र समयमै चुनाव हुनेमा नागरिक ढुक्क हुन सक्नेछन।



Leave a Reply