साजिर मन्सूर
कलैया, मङ्सिर ६
बाराको जितपुर सिमरा उपमहानगरपालिका–२० कंचनपुरका महम्मद साहबजान अँसारीले आफ्नै छोराबाट ठूलो अन्याय भोग्नुपरेको दाबी गरेका छन्। कलैयामा पत्रकार सम्मेलन गर्दै उनले छोरा समि अख्तर अँसारीले घरभित्र सुरक्षित राखिएको चेक चोरी गरेर एनआईसी एशिया बैंक, जितपुर शाखाका कर्मचारीसँग मिलेमतोमा ८० लाख रुपैयाँको रकम लेखाइ कर्तव्यविरुद्ध चेक बाउन्स गराएर मुद्दा हालेको आरोप लगाए।
अँसारीका अनुसार छोराले दर्ता गराएको सो मुद्दाको कारण उनी घरविहीन जस्तै बनेका छन्। बुवाविरुद्धकै मुद्दालाई आधार बनाएर घरबाट निकालिएका कारण अहिले उनले छोरीको घरमा आश्रय लिन बाध्य भएको बताएका छन्।
उनले छोराहरूलाई पहिले नै अंश–बन्डा गरिसकेको भए पनि आफ्नै जिविकाका लागि थोरै जग्गा मात्र नाममा राखिएको थियो। बाँकी सम्पत्ति हडप्ने उद्देश्यले छोराले जालझेलपूर्वक मुद्दा थोपरेको उनको आरोप छ। अँसारीले आफ्नो श्रीमती क्यान्सरको उपचारका लागि बाहिर गएका बेला छोराले चेक चोरी गरेर कर्तुत गरेको भन्दै गुनासो गरे।
“आफ्नै आमाको अन्तिम अवस्थामासमेत अस्पतालमा हेर्न नआउने छोरा यस्तो पाप गर्छ भन्ने सोचेको थिइनँ,” आँसु झार्दै अँसारीले भने, “अल्लाहले पनि कसैलाई यस्तो अन्याय गर्नु मान्दैन।”
उता, बैंकतर्फबाट भने यस घटनाबारे आधिकारिक प्रतिक्रिया प्राप्त हुन बाँकी छ।
स्थानीयहरूले घटनाको निष्पक्ष र विस्तृत छानबिन गर्न सम्बद्ध निकायलाई आग्रह गरेका छन्।



Leave a Reply