१३ मंसिर, काठमाडौं ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बनीजले आफ्नी पार्टनर जोडी हेडनसँग शनिबार विवाह गरी पदमा रहँदै वैवाहिक जीवनमा प्रवेश गरेका छन्। ६२ वर्षीय अल्बनीज अस्ट्रेलियाको इतिहासमै पदमा बसिरहेको अवस्थामा विवाह गर्ने पहिलो प्रधानमन्त्री बनेका छन्।
क्यान्बेरास्थित प्रधानमन्त्रीको कार्यालयमै सम्पन्न विवाह समारोहमा नजिकका परिवार र केही अतिथिहरू मात्र उपस्थित थिए। वित्तीय सेवा क्षेत्रमा कार्यरत ४६ वर्षीया जोडी हेडनसँग अल्बनीजले २०२४ फेब्रुअरीमा इङ्गेजमेन्ट गरेका थिए।
विवाहपछि प्रधानमन्त्रीले सामाजिक सञ्जालमा एक शब्दमा लेखे— “Married.”
साझा गरिएको भिडियोमा उनी बो–टाई लगाएको देखिन्छ भने दुलही हेडनसँग हात समाइ मुस्कुराइरहेको दृश्य पनि छ।
हनिमुन आफ्नै खर्चमा
अल्बनीज दम्पतीले सोमबारदेखि शुक्रबारसम्म अस्ट्रेलियामै हनिमुन मनाउनेछन्। सम्पूर्ण खर्च उनीहरूले आफ्नै खल्तीबाट व्यहोर्ने बताएका छन्, कुनै सरकारी सुविधा नलिने घोषणा गर्दै।
दोस्रो विवाह, पहिलो सम्बन्ध १९ वर्ष टिक्यो
यो अल्बनीजको दोस्रो विवाह हो। उनले सन् २०१९ मा आफ्नो पूर्व पत्नी कार्मेल टेबटसँग १९ वर्ष लामो वैवाहिक सम्बन्ध टुंग्याएका थिए। उनीहरूको एक छोरा— नाथन—छन्। हेडनको पनि यो दोस्रो विवाह भए पनि उनको पहिलाको वैवाहिक विवरण सार्वजनिक गरिएको छैन।
अल्बनीज र हेडनको भेट २०२० मा मेलबर्नमा एक व्यापारिक डिनरका क्रममा भएको थियो।
जटिल पारिवारिक पृष्ठभूमिबाट देशको सर्वोच्च पदसम्म
एन्थनी अल्बनीजलाई नजिकका मानिसले ‘अल्बो’ भनी बोलाउँछन्।
उनको जन्म २ मार्च १९६३ मा क्याम्परडाउनमा एक क्याथोलिक इसाई परिवारमा भएको हो। बाल्यकालदेखि उनलाई भनिएको थियो कि उनका बुवा आमा विदेश यात्रामा भएका बेला भेटिएका व्यक्ति हुन्, विवाह भएको थियो, र पछि बुवाको दुर्घटनामा मृत्यु भयो।
तर जब एन्थनी १४ वर्षका भए, आमाले वास्तविकता बताए—
उनी इटालीमा एक व्यक्ति कार्लोसँग प्रेममा परेकी थिइन्, गर्भवती भइन्, तर कार्लो पहिले नै इंगेज्ड भएकाले विवाह सम्भव भएन।
समाजको डरले उनले विवाहको झूटो कथा बनाएर एन्थनीलाई जन्म दिइन्।
उनकी आमा मैरियानेको २००२ मा निधन भएपछि मात्र एन्थनीले आफ्ना बुवालाई खोजे।
अस्ट्रेलियाको यातायात तथा पूर्वाधार मन्त्री रहेको समयमा उनी इटालीको बारेट्टा सहरमा पहिलोपटक बुवासँग भेटिएका थिए।
१२ वर्षमै पहिलो आन्दोलन
एन्थनीले राजनीतिक यात्रा बाल्यकालमै सुरु गरेका थिए।
१२ वर्षको उमेरमा स्थानीय सरकारले सरकारी घरको भाडा बढाउने निर्णय गरेपछि उनले आन्दोलनको नेतृत्व गरे। उनीहरूको अगुवाइपछि परिषद्ले घर बेच्ने योजना पनि रोक्नुपरेको थियो।
२२ वर्षको उमेरमा उनी लेबर पार्टीमा प्रवेश गरे।
१९९६ मा पहिलोपटक फेडरल सांसद बनेका उनी २०१३ मा लेबर पार्टीले हार खाएपछि विपक्षी दलका नेता बने।
१० वर्षको नेतृत्वपछि उनले २०२२ को चुनावमा स्कट मोरिसनलाई हराउँदै अस्ट्रेलियाका प्रधानमन्त्री बने।



Leave a Reply