१० पुस,विराटनगर — नेपाली क्रिकेट जगत् शोकमा डुबेको छ। कोशी प्रदेशबाट राष्ट्रिय क्रिकेटमा सक्रिय उदाउँदो खेलाडी मिनष थापा अब रहेनन्। बिहीबार राति विराटनगरमा भएको मोटरसाइकल दुर्घटनाले २७ वर्षीय थापाको जीवन अकालमै समाप्त भएको हो।
बिहीबार राति करिब १ बजे विराटनगर–४ को भित्री सडक खण्डमा एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा थापाले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको थियो। प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेपछि उनी गम्भीर घाइते भएका थिए।
घटनापछि तत्काल उपचारका लागि कोशी अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए। मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।
विराटनगर महानगरपालिका–५ निवासी थापा विगत नौ वर्षभन्दा बढी समयदेखि कोशी प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय क्रिकेटमा सक्रिय थिए। अनुशासन, मेहनत र निरन्तरताका कारण उनी भविष्यका सम्भावनाशील खेलाडीका रूपमा चिनिन्थे।
उनको असामयिक निधनले केवल परिवार मात्र होइन, सम्पूर्ण नेपाली क्रिकेट समुदायलाई अपूरणीय क्षति पुगेको खेलकर्मीहरूले बताएका छन्।

