१७ पुस, काठमाडौं । नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं नेतृत्वको समूहसँग प्रधानमन्त्री सुशीला कार्कीले भेटवार्ता गरेकी छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहीबार उक्त भेटवार्ता भएको हो।
प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पनि सहभागी थिए। भेटवार्तामा प्रसाईं समूहले लामो समयदेखि उठाउँदै आएका मागहरूको कार्यान्वयनबारे सरकारको ध्यानाकर्षण गराएको छ।
छलफलका क्रममा प्रधानमन्त्री कार्कीले नागरिकका सरोकारका विषयलाई गम्भीरतापूर्वक लिइएको बताउँदै मागहरूबारे आवश्यक अध्ययन र छलफलपछि निर्णय गरिने आश्वासन दिएकी छन्।
यसअघि पनि नागरिक बचाउ अभियान र सरकारबीच पटक–पटक संवाद हुँदै आएको छ। पछिल्लो भेटलाई निरन्तर संवादको एक कडीका रूपमा हेरिएको छ।



